विपिन र वर्षाको बढ्दो निकटता

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत दुबै एकअर्काका लागि निकै फापेका छन् । दुईले हाल प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ सहित तीन फिल्ममा काम गरे । ‘जात्रा’ बाट सुरु भएको दुईको सहकार्य फिल्म ‘गोपी’ मा पनि भयो । भलै, यो फिल्मले बक्सअफिसमा कमाल गरेन । प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ ले भने हलमा प्रदर्शनको ५१ दिन मनाएको थियो । अब, यसको सिक्वेल पनि यही बाटोमा छ । फिल्म बिहीवार ३५ औं दिनमा प्रदर्शनरत छ ।
‘जात्रा’ को दुबै पार्टमा विपिन र वर्षाले श्रीमान्-श्रीमतीको भूमिका निभाए । ‘गोपी’ मा भने प्रेम-प्रेमिका बनेका थिए । तीन फिल्ममा सहकार्य भइसक्दा यी अभिनेता-अभिनेत्री एकअर्कासँग निकै नजिक भएका छन् । दुबै खुल्लेआम एकअर्काको मजाक उडाउन समेत हिचकिचाउँदैनन् । दुई एकअर्कालाई ‘तिमी’ भनेर सम्बोधन गर्छन् । उनीहरु एकअर्कासँग काम गर्न एकदमै सहज हुने बताउँछन् । दर्शकले पनि दुईको जोडी निकै रुचाएका छन् ।