समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित ३ जना हिरासतमा

जनपत्र
६ असार २०७६, शुक्रबार ०६:०५

काठमाडौंको बौद्धमा रहेको समता अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर प्रहरीले सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीनजनालाई पक्राउ गरेको छ ।  सञ्जेललाई पनि प्रहरीले एकदिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । बुधबार प्रहरीले सञ्जेल पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगिता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

उनीहरुमाथि वृत्त गौशालाबाट अभद्र व्यवहारमा पाँचदिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको एउटा कोठामा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।  तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीको मिलेमतोमा हत्या भएको भन्दै अस्पताल तोडफोड समेत गरेका थिए ।
आफन्तको प्रदर्शन चर्किँदै गएपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।  प्रहरीले विमलाको गोजीबाट कागज भेटाएको थियो । कागजमा तीर्थ र संगिताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो ।  त्यही कागजको आधारमा उनीहरुमाथि अनुसन्धान शुरु गरिएको हो । महानगरीय प्रहरी बृत बौद्धका डीएसपी नरेन्द्र चन्द घटनाको अनुसन्धान भइरहेको बताउँछन् । विमलाको पोष्टमार्टम रिपोर्ट आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*