फेसबुकले ल्याउन लागेको डिजिटल मुद्राप्रति अमेरिकी सांसदको आपत्ति
फेसबुकले आगामी वर्षमा डिजिटल मुद्रा लिब्रा उपयोगमा ल्याउने भनेको केही दिनमै विरोध पनि भएको छ । खासगरी अमेरिकी संसद अन्तर्गत फाइनान्सियल सर्भिसेस कमिटीले यस्तो मुद्राको विकास अहिले नगर्न सुझाव दिएको छ । कमिटी अध्यक्ष तथा सांसद म्याक्सिन वाटर्सले त्यस्तो मुद्राबारे अनुसन्धान नगरिकन डिजिटल मुद्रा विकासको काम रोक्न चेतावनी दिएकी छन् ।
अमेरिकी सांसद सेर्रोड ब्राउनले पनि फेसबुकले देखाउँदै गरेको यस्तो प्रभावमा आपत्ति जनाएका छन् । लिब्रालाई खतरनाक मुद्रा भन्दै त्यसलाई अनुमति दिन नसकिने उनले बताएका छन् ।
फेसबुकले भने गत साता मात्रै २०२० मा आफूले लिब्रा नामको डिजिटल मुद्रा उपयोगमा ल्याउने घोषणा गरेको थियो । संसारभरका उपभोक्तालाई जोड्ने गरी मुद्रा विकास गर्न लागेको फेसबुकको भनाइ छ । यसका लागि फेसबुकले आफ्नै एप्सबाट कारोवार गर्न सकिने गरी सेवा दिने पनि बताएको छ । डिजिटल मुद्राकै रुपमा बिटक्वाइन प्रचलनमा आइसकेको सन्दर्भमा फेसबुकले लिब्रा ल्याउन लागेको हो ।
एजेन्सी