श्रम समझदारी भएको ८ महिना वितिसक्दा पनि मलेसिया किन खुलेन – संघ

म्यानपावर व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँग श्रम समझदारी भएको ८ महिना वितिसक्दा पनि कामदार पठाउन श्रम मन्त्रालयले रोकेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले असार १२ गतेभित्र मलेसियामा कामदार पठाउन सुचारु नगरे आन्दोलनमा उत्रने घोषणा गरेको छ। असार १२ गतेभित्र श्रम स्वीकृति सुचारु नगरेको खण्डमा असार १३ गते वैदेशिक रोजगार विभागमा धर्ना दिइने संघका अध्यक्ष रोहन गुरुङले बताए।
‘मलेसिया खोल्ने भए खोलिहाल्नु पर्यो, श्रम समझदारी गरेका ८ महिनासम्म किन खोलिएन, यहाँ क-कसको स्वार्थ लुकेको छ, समिक्षा होस्,’ गुरुङले सेतोपाटीसँग भने। ‘नखोल्ने भए सदाका लागि बन्द गर्ने घोषणा सरकारले गरोस्’ गुरुङले थपे । गत कात्तिक १२ गते नेपाल सरकार र मलेसियाबीच श्रम सम्झौता भएको थियो। तर त्यो कार्यान्वयनमा आउन सकेको छैन्। मलेसिया जानका लागि भिएलन लगायतका संस्था हटाउन लागि परेको श्रम मन्त्रालय नसकेपछि पछिल्लो समय स्वास्थ्य संस्था छनौटका नाममा मलेसिया खोल्न नसकिएको बताउँदै आएको छ। मलेसियाले भिएलन लगायतका संस्था परिवर्तन गर्न नसकिने अडान राखेपछि श्रम मन्त्री गोकर्ण विष्ट पछाडि हटेका छन् ।