पुल निर्माणमा म्याद थप्ने, लागत बढाउने, पैसा लिने तर, कामै नगर्ने

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ भालुखोला र वडा नम्बर ३ कालिखोला जोड्ने पुल निर्माण सुरु भएको तीन बर्ष बितीसकेको छ । तर, सामरी खोलामा पुल निर्माणको काम भने खासै हुनै सकेको छैन । पुल निर्माण हुने आसामा स्थानीयहरु हरेक बर्षायाममा दुईवटा वडामा ओहोर दोहोर गर्नका लागि समस्या भोग्दै आएका छन् ।
पुल निर्माणको काम भने तीन बर्ष अघिदेखिनै अलपत्र रहेको छ । बिच खोलामा पुलका लागि पिल्लर ठडिएका छन्, रड ठड्याइएको छ । तर, काम अगाडी बढ्न नसकेको स्थानीय वासिन्दाहरु बताउँछन् । पुल निर्माणमा म्याद थप्ने, लागत रकम बृद्धी गर्ने र आर्थिक बर्ष असार महिना सकिन लाग्दा सरकारी निकायबाट रकम लिने भन्दा बडी केही हुन नसकेको स्थानीय बिष्णु दंगाल बताउनुहुन्छ ।
पुल निर्माण होला र ओहोर दोहोर गरौला भनेर बसेका स्थानीयहरुले अब पुल बन्छ भनेर पत्याउन पनि छोडिसके । अब पनि पुल निर्माणको काम अलपत्र पारिएमा पुल निर्माण गर्ने कम्पनिका मालिकलाई त्यही रडमा बाधिदिने सम्मको चेतावनी स्थानीय महिलाहरुले दिएका छन् ।
पहिले संघिय सरकारको सडक डिभिजन कार्यालय हेटौंडा मार्फत पुल निर्माणको काम भएपनि अहिले भने प्रदेश सरकारको प्रदेश डिभिजन कार्यालय मार्फत काम सुरु भएको छ ।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको पुल निर्माण गर्नुपर्ने म्याद एक बर्ष अगाडीनै सकिएको हो । तर, निर्माण कम्पनिले काम नगर्ने, सरकारी कर्मचारीले चासो नदिने समस्याका कारण पुल निर्माणको काम सामरी खोलाको जमिनबाट खासै माथी उठ्न सकेको छैन । यता मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले भने अबको एक बर्षमा पुल निर्माणको काम सकिसक्नुपर्ने बताउनुभयो । पुल निर्माण नहुँदा स्थानीय वासिन्दाहरुले निकै हैरान पाएको उहाँको भनाई छ । पुल निर्माणमा यसअघि ढिलाई भएपनि अब भने छिटो काम गरिनुपर्ने उहाँले बतााउनुभयो ।