परिवार यस्तो छाता हो जसले घाम र पानी दुवैलाई रोक्छ

परिवार, कुनै सम्बन्धमा यो भन्दा प्यारो शब्द अरु के नै होला र ! परिवार यस्तो छाता हो जसले घाम र पानी दुवैलाई रोक्छ । कुनै पनि परिवारमा सदस्यता प्राप्त गर्नुको लागि बच्चा भएर जन्मनु आवश्यक हुन्छ । परिवार यस्तो समूह हो जहाँ विभिन्न उमेरका मानिसहरू हुन्छन् । समाज परिवारको समूहबाट बन्छ त्यसैले समाज राम्रो हुन परिवारहरु पनि राम्रो हुन निकै आवश्यक छ।
परिवार दुइ किसीमका हुन्छन्, एकल परिवार र संयुक्त परिवार। एकल परिवारमा श्रीमान, श्रीमती र उनका सन्तान मात्र हुन्छन्। संयुक्त परिवारमा चाँही हजुरबुबा , हजुरआमा, उनका छोराछोरी र नातिनातिना एकै घरमा बस्ने गर्छन्।
बच्चा जस्तो परिवारमा हुर्किन्छ ऊ पनि त्यस्तै बन्छ। बच्चा न हो परिवारका अन्य सदस्यहरुको देखा सिकी गर्छ। परिवारमा त बैवाहिक र रगतको सम्बन्ध रहेको हुन्छ। बैवाहिक सम्बन्ध अर्थात् श्रीमान श्रीमतीको सम्बन्ध र रगतको सम्बन्ध अर्थात् छोराछोरी र आमाबाको सम्बन्ध हो। परिवारमा हरेक सदस्यको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ।
बच्चाको लागि त परिवार उसको पहिलो पाठशाला हो र आमा पहिलो शिक्षक। ऊ आफ्नो परिवारसँगै बसेर केही शब्द उचाहरण गर्न खोज्दा खोज्दै तोते बोल्छ र सिक्छ। हजारौँ चोटी लडेर भए पनि उठेर हिंड्न सिक्छ। बच्चा र देशको सम्बन्ध ठुलो हुन्छ र बच्चालाई परिपक्क बनाउने परिवारकै हातमा हुन्छ। बच्चा अहिलेको त बच्चा होला तर युवा भएपछि त उसले पनि परिवार बनाउँछ र उसले आफ्नो परिवारलाई कस्तो बनाउने भन्ने उसकै हातमा हुन्छ। र उसको बाल्यकालको प्रभाव त्यस बेला सम्म रहन्छ।
हिजो आज केहि परिवारमा परिवारका सदस्य बिच राम्रो मेलमिलाप भएको देखिदैन। बच्चाहरुको साथी संगत, अध्ययन, विचार आदि तर्फ ध्यान नदिकन मोबाइल तिर मात्र एकोहोरो आमा बाबाको ध्यान जान्छ। यसले बच्चाहरु माथी ठुलो असर पर्छ र उनीहरु पनि ठुलाबडाको देखासिखी गरेर मोबाइल मै झुन्डिन्छन्। यसरी बच्चाहरुको भविष्य नै बिग्रन पुग्छ।
आजकलको दुनिया प्रविधि मैत्री छ। प्रविधि त राम्रो काम को लागि बनेको हो। टाढा टाढा भएका मान्छेहरुसँग पनि बोल्न मिल्ने भएको छ। तर यो दुरुपयोग भईरहेको छ र यसको असर परिवारमा पनि देखिन्छ। मान्छेहरु यति सम्म टाढा टाढाका नातेदारसँग नजिकिएका छन् कि उनीहरुले आफ्नै छेउमा, आफ्नै नजिक भएको परिवारसँग कुरा गर्न बिर्सिसकेका छन् र यसरी परिवार भित्र रहेको सम्बन्ध घट्दै घट्दै गएको छ।
परिवार भित्र एक अर्का सँग राम्रो सम्बन्ध भएन भने पारिवारिक सम्बन्धमा खलल उत्पन्न हुन्छ र त्यस्ता बाधाहरुलाई आउन नदिएमा मात्रै परिवार खुशी र सुखी परिवार हुन्छ। परिवार भित्र केहि समस्या आई हालेमा त्यी समस्याको समाधान परिवार भित्रै खोज्नु पर्छ र बाहिर सुनाउदै हिँड्नु हुँदैन। त्यस्तो गर्न हामीले सबैको कुरा सुन्नु पर्छ, एक अर्कासँग राम्रो भई बोल्नु पर्छ र घुलमिल हुन जान्नु पर्छ। यसो गरेमा हाम्रो परिवार राम्रो परिवार हुन्छ।
रुविआ पराजुली
कक्षा ८
बुढानिलकण्ठ स्कुल