रत्ननगर नगरपालिकामा ‘खरमुक्त नगर’ बनाउने अभियान सुरु
चितवनको रत्ननगर नगरपालिकाले ‘खरमुक्त नगर’ बनाउने अभियान सुरु गरेपछि स्थानीय खुसी भएका छन् । आर्थिक विपन्नताका कारण खरको छानामुनी कष्टकर जीवन बिताइरहेका नागरिकलाई नगरपालिकाले जस्तापाता वितरण गर्न सुरु गरेको हो । चितवनको पूर्वी क्षेत्रमा पर्ने रत्ननगर नगरपालिकाले अति विपन्न नगरवासीलाई लक्षित गरी खरको घरमुक्त नगर बनाउने अभियान थालेको छ ।
आर्थिक अभावकै कारण खरको झुपडीमा बस्न बाध्य भएकाहरुलाई जस्तापाता वितरण गरिएको हो । खरको झुपडीमा पानी र हावाहुरी आउँदा छिमेकीको शरण लिनुपर्ने बाध्यता रहेको स्थानीय सरिता विकको भनाइ छ । रत्ननगरभित्र रहेका करिब २ सय ७५ वटा खरले छाएको घरमा जस्तापाता लगाउन नगरपालिका जुटेको छ । पहिलो चरणमा चालू आर्थिक वर्षभित्रै १ सय ४७ वटा घरपरिवारलाई जस्ता वितरण गर्ने लक्ष्यअनुसार मंगलबारबाट अभियान सुरु भएको छ ।