पश्मिनाको निर्यात बढ्यो

लामो समयसम्म संकटग्रस्त रहेको नेपाली पश्मिनाको निर्यातमा यस आर्थिक वर्षमा पचास प्रतिशत वृद्धि हुने भएको छ ।नेपाल पश्मिना उद्योग संघका अनुसार गत वर्ष भन्दा यस वर्ष पश्मिनाको निर्यात पचास प्रतिशतले बढेको छ । ‘गत वर्ष एक अर्ब रुपैयाँ बराबरको पश्मिना निकासी भएकोमा यस वर्ष वैशाख मसान्तसम्मको अवधिमा एक अर्ब चालीस करोडको पश्मिना निर्यात भइसकेको छ । जेठ र असारमा दश करोडभन्दा बढीको पश्मिना निर्यात हुने निश्चित छ’ संघका महासचिव दुर्गा थापाले अभियानसँग भने ।
थापाका अनुसार शान्ति प्रक्रिया सुरु भएपछि विदशी व्यापारीहरू नेपालबाट समयमै सामान ढुवानी हुनेमा विश्वस्त बनेकाले निर्यात बढ्न थालेको हो । त्यसमाथि गुणस्तरमा पनि पहिलेको भन्दा निकै सुधार भएको छ । द्वन्द्व कालमा अर्डर आएको सामान समयमा ढुवानी गर्न नसक्दा पार्टीहरू हामीसँग तर्सिएका थिए । द्वन्द्व समाप्त भएपछि हामीले सामान समयमै ढुवानी गर्न सक्यौं । यसबाट हाम्रा विदेशी ग्राहकमा फेरि विश्वास पलाउँदे गएको छ ।’ थापाको भनाइ छ । थापाका अनुसार विगतमा पश्मिनाका सलहरू बढी निर्यात हुने गरेकोमा यो वर्ष पश्मिनाको स्वेटर पनि प्रशस्त निर्यात भइरहेको छ । खासगरी जर्मनी र बेलायतमा नेपाली पश्मिनाको स्वेटरको माग निकै रहेको जानकारी उनले दिए । नेपाली पश्मिनाको निर्यात घट्नुमा नक्कली सामान निर्यात हुनु पनि एउटा मुख्य कारण भएको थाहा पाएपछि व्यवसायीहरू नक्कली उत्पादन र निर्यातलाई रोक्नका लागि पनि सक्रिय भएका छन् । ‘नक्कली सामानलाई मात्रै रोक्न सकियो भने पनि हाम्रो पश्मिना उद्योगले बजार खोज्न आत्तिनु पर्दैन । यही भएर पनि हामी नक्कली उत्पादनलाई निरुत्साहित गर्न लागिरहेका छौं ।’ थापाले भने ।