प्रदेश ३ मा बजेटको अन्तिम तयारी, कर्मचारीलाई भ्याइ नभ्याइ

हेटौंडा । प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजान मन्त्रालयले आउँदो आर्थिक बर्षका लागि बजेट ल्याउने अन्तीम तयारीमा जुटेको छ । बजेटको तयारीका लागि मन्त्रालयका कर्मचारीहरु बिहानको झिसमिसे देखिबाट साँझ अबेर सम्म काममा खटिएका छन् । चालु आर्थिक बर्षमा पुँजीगत खर्च रकम खासै खर्च गर्न नसकेको प्रदेश सरकारले आउँदो आर्थिक बर्षका लागि गतबर्ष भन्दा बडी रकमको बजेट ल्याउने तयारीमा जुटेको छ ।
बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलीङ अनुसार आउँदो बर्षभरी गरिने कामका योजना छनौट गरि आईसकेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो । गतबर्ष समेत समेट्न नसकिएका योजनाहरु बजेटमा समेट्ने तयारी भएको उहाँले बताउनुभयो । बजेट कती रकमको ल्याउन लागेको भन्ने उहाँले खुलाउन चाहनुभएन । सबैभन्दा बडी रकम भौतिक पुर्बाधारका क्षेत्रमा खर्चगरिने उहाँको भनाई छ । प्रदेशका गौरबका योजनाहरु छनौट गरेर काम गर्ने तयारी पनि भएको छ ।
असार १ गते ल्याइने बजेटमा चालु आर्थिक बर्षमा भन्दा आउँदो आर्थिक बर्षमा चालु खर्च समेत बढ्ने अनुमान गरिएको छ । पहिले कर्मचारी अभाबका कारण चालु खर्च पनि थोरै भएको प्रदेश ३ मा आउँदो आर्थिक बर्षमा भने चालु खर्च पनि बढ्ने छ ।