हेटौंडामा नयाँ विद्यालय भवन हस्तान्तरण

एक करोड ७७ लाख लागतमा नवनिर्मित बिद्यालय भवन र सौचालय हस्तान्तरण गरिएको हो ।
जनपत्र
२६ जेष्ठ २०७६, आईतवार १६:४६

हेटौंडा । हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीमा जापान सरकारको सहयोगमा नवनिर्मित बिद्यालय भवन आज हस्तान्तरण गरिएको छ । बिद्यालयको चारकोठे भवन, छात्रछात्रा शौचालय सहित स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठाको आज विद्यालयमा आयोजित एक समारोहकाबीच उद्घाटन सहित हस्तान्तरण भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रुम्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि वस्तिपुरका पधानध्यापक प्रवोध विडारी, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, वडा नम्बर १९ का वडा सदस्य वागसिं स्याङ्तान, निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभि निर्माण सेवाकातर्फबाट सागर भण्डारी, प्राविधिकहरु र अभिभावकहरु उपस्थित रहनुभएको थियो ।

निर्माण सेवाकातर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख पाठकलाई हस्तान्तरण गर्नुभयो । इकाईप्रमुखबाट विद्यालय व्यवस्थापन समितका अध्यक्षलाई भवन हस्तान्तरण गरिएको थियो । नवनर्मित भवनको उद्घाटन इकाई प्रमुख बद्रीबहादुर पाठकले गर्नुभएको थियो । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार तीन सय तीन रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।

भवन निर्माण संगै कुवापानी क्षेत्रका बालबालिकाको गुणस्तरीय पठन पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक इन्द्र लामाले गर्नुभएको थियो । वडा सदस्य वागसिं स्याङ्तान, निर्मल माविका प्रअ र इकाई प्रमुखले विद्यालयमा बालबालिकाको पँहूच, टिकाउ र सिकाइमा जोड दिदै हस्तान्तरण भएको भवनको सरसफाई, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न सबैमा आग्रह गर्नुभएको थियो ।

तामाङ्ग वस्तीमा निर्माण भएको भवनमा विद्यार्थी रमाएर बसेका प्रअ र विद्यालय व्वयस्थापन अध्यक्षले जानकारी दिनुभएको थियो । विद्यालय पुनर्निमाण अन्तरगत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयकामध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालयहरु यस अघि नै हस्तान्तरण भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*