महोत्तरीमा १५ वर्षीय कशोरमाथि एसिड प्रहार

महोत्तरीको बर्दिवासमा १५ वर्षीय कशोरमाथि एसिड प्रहार गरिएको छ। बर्दिवास नगरपालिका–२ बस्ने १५ वर्षीय सुरज मुखियाको अनुहारमा गए राति अपरिचित व्यक्तिले एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट उनी मुखिया घाइते भएका छन्।
शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। मुखियाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले बताए। मुखिया चोक वरिपरि दुर्व्यसनमा लागेकाहरूको सङ्गतमा रहेका प्रहरीको अनुमान छ। लोहालक्कड बटुल्दा कतिपय पसलमै पसेर आफ्नो समान चोरेको गुनासो कतिपय व्यापारीले गर्दै आएका प्रहरीले जनाएको छ।
यसअघि कैंयौपटक मुखियालाई प्रहरीले नियन्त्रणमा लिएर यस्ता घटनाबारे सोधपुछ गर्दै आएको साहले बताए। मुखियाको संगत ठीक नरहेको आमा जयकलादेबीले पनि स्वीकार गरेकी छन्। ‘ खै कहाँ जान्छ, के गर्छ थाहै पाइँदैन,’ आमा जयकलाले भनिन्,’अबेर राति घर पुग्दा मातेर पुगेको हुन्छ, आजित भइसकेकी छु।’ पिता सत्यनारायण मुखियाको निधनपछि चार बालख छोराछोरी हुर्काएकी जयकला तीनवटा ठूला सन्तान राम्रो काममा लागेपनि कान्छा सुरजभने कुलतमा परेर दुःख पाइएको बताइन्। मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सक डा. सीताराम पराजुलीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।