अपडेट- कैलाली आँधी : एकजनाको मृत्यु, ७५ जना घाइते

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आँधीले वितण्डा मच्चाउँदा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र घाइते हुनेको संख्या ७५ पुगेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
आँधीबाट विशेषगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका प्रभावित भएको उनको भनाइ छ । घाइतेमध्ये अधिकांशको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्यको नयाँ मेट्रो, निर्सग र अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए । कञ्चनपुरमा भने घरको छाना र बिजुलीका पोल ढलेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ । हावाहुरीले बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिले हावाहुरी रोकिएको छ । आपतकालीन कार्यसञ्चान केन्द्रका अनुसार हावाहुरी बर्दीया र दाङतर्फ बढिरहेकोले सतर्क रहन आग्रह गरेको छ ।