इदको अवसरमा हेटौंडामा सामूहिक नमाज

हेटौंडा । मकवानपुरको हेटौंडामा आज इस्लाम धर्मावालम्वीहरुको पवित्र महिना रमजानको अन्तिम दिन आज सामूहिकरुपमा नमाज पढेका छन् । हेटौंडाको भैरवरोडमा रहेको इस्लाम धर्मावालम्वीहरुको मस्जिदमा सयौ मुस्लिम समुदायले देशमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेका हुन् ।
मुस्लिम समुदायको हेटौंडामा धेरै बसोबास नभएपनि हरेक पर्बमा उनीहरु एक भएर यो पर्ब मनाउने गरेका छन् । हेटौंडामा इद उल फित्रको रौनक बिहान निकै बढेको थियो । इदको शुभकामना आदानप्रदानका लागि गैर मुस्लिम धर्मावलम्बीहरु इद हेर्नका लागि मस्जीदमा गएका थिए ।
हिजरी संवतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तिको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुुरु हुन्छ । अन्तिम दिन इदको रुपमा मनाइन्छ । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएपछिदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्छन् ।
इदको अवसरमा इस्लाम समुदायको घरमा मिठामिठा परिकारहरु बनाएर खाने र खुवाउने प्रचलन रहेको छ । यतिबेला हेटौंडामा गला मिलाएर इदको शुभकामना आदानप्रदानको कार्यक्रम दिनभर चलेकोे छ ।