भिमफेदीले ७ सय जेष्ठ नागरिक सम्मान गर्दै, वडैपिच्छे अभियान

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाको ९ वटै वडा भरीका जेष्ठ नागरिकलाई सम्मान गर्न सुरु गरेको हो । यो अभियान वडानम्बर २ बाट सुरु गरिएको छ । गाउँपालिकाभरीका करिब ७ सय जना जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको छ । संघिय सरकार संगै स्थानीय सरकारले पनि जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान अनुसार दोसल्लाह ओढाएर सम्मान गर्न सुरु गरिएको छ ।
७० बर्ष माथीका जेष्ठ नागरिकलाई सबै वडामा गएर सम्मान गर्ने कार्यक्रम अनुसार आज भिमफेदी गाउँपालिका वडानम्बर २ मा जेष्ठ नागरिक सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जेष्ठ नागरिकलाई दोसल्लाह ओढाएर सम्मान गर्नुभयो । उनीहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लामाले बताउनुभयो । जेष्ठ नागरिकका लागि काम गर्नु सरकारको दायित्व भएकाले संघिय सरकार संगै यो अभियानमा लागिएको उहाँले बताउनुभयो ।
भिमफेदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काँशीराम बज्युको अध्यक्षतामा भएको कायक्रममा गाउँपालिकाका उपाध्यक्ष पार्बती रानाको बिशेष आतिथ्यता रहेको थियो । वडाभरीका बिभीन्न संघसंस्था, नागरिक समाज, बिद्यालय सबैको सहभागितामा सम्मान गरिएको थियो । जेष्ठ नागरिकका लागि बषै पिच्छे बिभीन्न कार्यक्रम गरिने बताइएको छ ।