मकवानपुरको मनहरी गाउँपालिकामा योजना छनौटको काम सुरु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि प्रत्यक वडाका टोल टोलमा गएर योजना छनौटको काम सुरु गरेको छ । गाउँमा बिकाश निर्माणको आवस्यक्ताका आधारमा योजना छनौट गर्ने उदेस्यले टोलटोलमा गएर योजना छनौटको काम सुरु गरिएको हो ।
गाउँपालिकाको नौ वटै वडाका टोल– टोलमा पुगेर योजना छनौट गर्ने काम यही जेठ १८ गतेबाट सुरु गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । योजना छनौटको काम जेठ २५ गते सम्म चल्ने छ । यस अवधिमा योजना छनौट गरिसकेर गाउँपालिकामा आइसक्नुपर्ने छ ।
योजना छानौटका लागि कुन वडा र टोलमा कहिले जाने भनेर कार्यतालिका तयार गरेर जनप्रतिनिधिहरु आफ्ना गाउँका बिकाश निर्माणमा खटिएका हुन् । योजना छनौटका लागि प्रत्यक वडाका लागि ५० लाख रुपैयाँ बराबरको बजेटको सिलिङ दिइएको अध्यक्ष उप्रेतीले बताउनुभयो । योजना छनौट गर्दा गतबर्ष काम गरेर अधुरो रहेका योजनालाई बडी प्राथमिकता दिनुपर्ने, गाउँका धेरै परिवारलाई समेट्ने योजनालाई प्राथमिकता दिनेगरी छनौट गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।
अब बिकाशको काम भनेको पुर्बाधारका काम मात्र नभएर गाउँपालिकाका हरेक क्षेत्रका नागरिकको जिवनस्तर उकास्नेगरी काम गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।