चीनको कृत्रिम सूर्यले १० करोड डिग्री तापक्रममा काम गर्न सक्ने !

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले केही समय अगाडि मात्र आफ्नै ‘क्रित्रिम चन्द्रमा’ लन्च गर्ने बताएको थियो । चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्यूट अफ प्लाज्मा फिजिक्सले, ‘इस्ट’ नामक ‘क्रित्रिम सूर्य’ निर्माणमा भइरहेको प्रगतिबारे खबर गरेको हो ।
चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले जनाएको हो । जसपछि यस उपकरणमा पनि सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने बताइएको छ । तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो । वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ ।
न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्र्तगत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए । हाल विद्युतको बढ्दो मागसँगै वातावरणमा परिरहेको लगातार असरका कारण विज्ञहरु ऊर्जा उपभोगबारे ठूलो द्विविधामा छन् । यसैबीच चीन भने लगातार फ्युजन परियोजनामा काम गरिरहेको थियो जसले वायुमण्डललाई हानि पुर्याउने किसिमका कुनैपनि ग्यास उत्पादन नगरि स्वच्छ ऊर्जा निकाल्न सक्छ ।
फिसन रियाक्सन जस्तो नभएर फ्युजनबाट सस्तो ऊर्जा निकाल्न सकिने वैज्ञानिकहरुको भनाइ छ । त्यसैगरी यसबाट कुनै प्रदुषण नहुने र फोहोरजन्य पदार्थहरु पनि उत्पन्न नहुने हुँदा हालको बिजुली उत्पादन प्रक्रियाको तुलनामा धेरै उचित मानिएको हो । साथै यसको प्रक्रिया समेत अत्यन्तै सुरक्षित रहेको बताइएको छ । फ्युजन पावर प्लान्ट दुई न्युक्लियसको मिश्रण हो भने फिसनका लागि चाहिँ न्युक्लियसलाई विभाजित गर्नुपर्ने हुन्छ जसले १० हजार वर्षसम्म रहिरहने विषाक्त पदार्थ उत्पादन गर्न सक्छ ।
एजेन्सीको सहयोगमा