आहा राराको सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने
पोखरा रंगशालामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लबले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको स्वीकृति अनुसार कुल दर्शक क्षमताको एक तिहाई दर्शक राख्ने गरि सेमिफाइनल र फाइनलको टिकट विक्री गरिने जनाएको छ । १६ हजार दर्शक क्षमता रहेको भनिएको रंगशालामा झण्डै ५ हजार ५ सय टिकट विक्री गरिने क्लबले जनाएको छ । क्वार्टरफाइनल सम्मका खेल विना दर्शक खेलाइएको थियो ।
आहा राराको २० औं संस्करणमा मंगलबार सेमिफाइनल समिकरण पूरा भएको छ । थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार एपिएफ र मछिन्द्र तथा बिहीबार मनाङ र आर्मीबीच सेमिफाइनल खेल हुनेछ । फाइनल शनिबार हुनेछ ।
सेमिफाइनल र फाइनल खेलका टिकट प्रभु पेको अनलाइन एपबाट समेत गर्न सकिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । क्लबले प्रति टिकट दर ३ सय रुपैयाँ तोकेको छ । खेल हेर्ने चाहाने दर्शकले खोप लगाइसकेको कार्ड अनिवार्य रुपमा लिएर रंगशाला जान क्लबले अनुरोध गरेको छ । आहाको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।