मकवानपुरगढीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता : उद्घाटनको दिन सात खेल सम्पन्न
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सुरु भएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उद्घाटनको दिन आज ७ खेल सम्पन्न भएको छ । बुधबारबाट हुने भनिएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता खराब मौसमका कारण आजबाट सुरु भएको थियो ।
उद्घाटनको पहिलो खेल आयोजक आमभञ्ज्याङ्ग युवा क्लव ‘ए’ ले जित हासिल गरेको छ । आमभञ्ज्याङ्ग युवा क्लवले हटिया स्पोर्ट एकेडेमीलाई २५-२२, २१-२५ र १८-१६ को सेटमा पराजित गरेको हो । त्यस्तै अर्को खेलमा नागरिक सचेत समूहले कैलास गाउँपालिकालाई १९-२५,२५-२१ र १५-७ को सेटमा पराजित गर्दे जित हासिल गरेको हो । त्यस्तै अर्को खेलमा मेतोक युवा क्लवले बकैया गाउँपालिकालाई २५-१३ र १५-१३ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै मेतोकको आयोजक ‘बि’ संगको खेलमा समेत जित हासिल गरेको छ । मेतोकले आयोजक ‘बि’लाई २५-१५, १९-२५ र १५-९ को सेटमा पराजित गरेको हो ।
त्यस्तै हटिया स्पोर्ट एकेडेमीले भानु माविलाई सोजो सेटमा पराजित गरेको छ । हटियाले भानु माविलाई २५-१३ र २५-१३ को सेटमा पराजित गरेको हो । त्यस्तै अर्को खेलमा कोर्टडाँडा युवा क्लवलाई छहारी युवा क्लवले सोजो सेट २५-२० र २५-१८ मा जित हासिल गरेको छ । त्यस्तै सुनिता स्मृति युवा क्लव बज्रवाराहीले कैलास गाउँपालिकालाई २५-१६ र २५-१७ को सोजो सेटमा पराजित गरेको प्रतियोगिताका संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।
आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १२ टिम सहभागि रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले उदघाट्न गर्दे गाउँपालिकाले खेल क्षेत्रमा सधै चासो दिएको समेत बताए । उनले खेल क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत जिकिर गरे ।
कार्यक्रममा आमभञ्ज्याङ युवा क्लबका अध्यक्ष राजेश अधिकारी सभापति रहेका थिए भने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता रहेको थियो भने विशेष अतिथिमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा रहेका थिए । त्यस्तै उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक तथा जिल्ला भलिवल संघका पूर्व उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, , नेपाली कांग्रेसका क्षेत्र २ का निवर्तमान सभापति यतिराज सापकोटा, माओवादी केन्द्रका गाउँपालिकाका उपाध्यक्ष युवराज सापकोटा, एमालेका वडा ५ कमिटिका अध्यक्ष कृष्ण बहादुर गोले लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीका साथै खेलप्रेमीहरुको अतिथ्यता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।