स्वयंसेवकको नाममा कार्यकर्ता भर्ति गर्ने काम रोक्नुपर्छ–प्रतिपक्ष दलका नेता बानियाँ

हेटौंडा । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले स्वयम्सेवकको नाममा प्रदेश सरकारले कार्यकर्ता भर्ति गर्ने काम रोकिनुपर्ने बताउनुभएको छ । प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम माथीको छलफलमा बोल्ने क्रममा उहाँले स्वयंसेवक भनेको कस्तो हो स्पष्ट खुलाएर मात्र राख्नुपर्ने बताउनुभयो ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक सय १६ जना प्रदेश स्वयम्सेवक राखिने भनिएको बताउँदै उहाँले भन्नुभयो ‘योग्यताको प्रमाणपत्र पेस गरेर तलब लिने अनी स्वयंसेवकको नाममा कार्यकर्ता भर्तिगर्न मिल्छ ? उनीहरुका नाममा प्रचार प्रसार गर्नका लागि यो काम भएकाले तत्काल रोकिनुपर्छ । स्वयम्सेवक भनेको महिला स्वास्थ्य स्वयम्सेवीका जस्तो हुनुपर्छ ।’ स्वयंसेवक राख्ने काम नीति तथा कार्यक्रमबाट हटाइनुपर्ने उहाँले बताउनुभयो । नारै नाराको भण्डारका रुपमा सरकारले ल्याएको नीति तथा कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक बर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा औद्योगिक बर्षको रुपमा ल्याइएको बताउँदै उहाँले भन्नुभयो–‘औैद्योगिक बर्ष भनिएपनि कहाँ उद्योगनै उद्योग खुले त ? यस बर्ष हामी संबै उद्योगि भनिएको छ । उद्योगी बन्न कसरी संभब छ ?’ प्रदेशका जनताको हितका लागि नीति तथा कार्यक्रम नआएको नेता बानीयाँले बताउनुभयो । मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत केही ब्यक्तिको मात्र स्वास्थ्य परिक्षण नभइ सबैको स्वास्थ्य परिक्षण गरिनुपर्ने बताउनुभयो ।
नीति तथा कार्यक्रमले जनतालाई रोजगारी दिने कुनैपनि कार्यक्रम नदेखिएको उहाँले बताउनुभयो । प्रदेश प्रहरी ऐन ल्याउने कुरा राम्रो भएपनि यसअघिनै संघिय प्रहरीका लागि प्रदेश सरकारले एक अरब रुपैयाँ भन्दा बढी रकम खर्च गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो ।