संघिय सरकारको बजेटमा मकवानपुर

हेटौंडा । संघिय सरकारले आज संसदमा प्रस्तुत गरेको बजेटमा मकवानपुरका पनि केही क्षेत्र समेटीएको छ । संघिय सरकारले मकवानपुरको हेटौंडाको मयुरधापमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने भएको अर्थ मन्त्री युवराज खतिवडाले बताउनुभयो ।
मयुरधापमा यसअघिनै औद्योगिक क्षेत्रको नाममा जग्गा प्राप्त भएको छ । जग्गामा केहीक्षेत्र घेराबार पनि गरिएको छ । तर, अरु काम भने हुन सकेको छैन । संघिय सरकारले पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको क्षमता बिस्तार गर्ने भएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योग संग प्रतिस्पर्धा गर्नका लागि पुराना मेसिनका कारण समस्या बेहोर्दै आएको सिमेन्ट उद्योगको क्षमता बिस्तारमा सरकारले बजेट मार्फत यसको क्षमतामा थप बिस्तार गर्न लागेको हो ।
संघिय सरकारले ढल्केबर–हेटौंडा प्रसारण लाईनको सव स्टेशन निर्माण आज संसदमा प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यसैगरी दु्रतमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट छुट्याइएको अर्थ मन्त्री खतिवडाले बताउनुभयो । यसैगरी कान्तिलोकपथ सडक निर्माणका लागि ६१ करोड रुपैयाँ छुट्याइएको छ । कान्तिलोकपथको हेटौंडा देखि काठमाण्डौ सम्म जोडिएपछी साना तथा ठुला सवारीका साधनहरु इस सडक भएर चल्न सक्ने छन् । यसैगरी फास्ट ट्र्याकका लागि १५ अर्ब विनियोजन गरिएको उहाँले बताउनुभयो ।