बाल सुधार गृह र कारागारलाई खेलकुद सामग्री प्रदान
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/khelkud_ka_samagri_hastantaran_DrRpCwtgBx.jpg)
डोटी – मानवीय सेवामा अनेकौ प्रयास नामक एक गैर सरकारी संस्था साइन नेपालले डाेटी जिल्ला कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दी तथा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुका लागि खेलकुद सामग्री प्रदान गरेको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार कैदी बन्दीलाई सहज होस् भन्नका लागि क्यारेम बोर्ड, भलिबल, पम्प, भलिबल जाली (नेट) लगायतका अन्य खेलकुद सामग्री प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट मार्फत खेलकुद सामग्री प्रदान गरिएको हो । साइन नेपालले हस्तान्तरण गरेका खेलकुद सामग्रीले कारागार तथा बाल सुधार गृहमा राखिएका कैदी बन्दीहरुलाई खेलकुदका क्षेत्रमा निकै सहयोग पुग्ने प्रजिअ विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनोरञ्जन तथा खेलकुद सामग्री नहुँदा कैदी बन्दीहरुलाई दिन बिताउन समेत समस्या थियो, साइन नेपालले खेलकुदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।” संस्थाले खेलकुद सामग्री प्रदान गरेपछि कैदी बन्दीहरु निकै खुशी भएका छन् ।
यस संस्थाले जिल्लामा गैरसरकारी संस्था मार्फत महामारी, विपद, शिक्षा, स्वास्थ्य, छाउपडी लगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ ।