सर्वाेच्च अदालत प्रवेश गर्ने वैकल्पिक बाटाे पनि बन्द गर्ने दिन नआओस् : वरिष्ठ अधिवक्ता दाहाल

जनपत्र
२ मंसिर २०७८, बिहीबार १६:११

काठमाण्डाै – वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेको राजीनामा भएको उल्लेख गर्नुभएकाे छ । प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले बर्हिगमनको बाटो नलिएमा सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उहाँले चेतावनी दिनुभयो ।

आज बिहीवार नेपाल बार एसोसिएशनको सर्वोच्च अदालतमा धर्नापछि एसोसिएशनको भवन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दाहालले सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरूमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै प्रहरीको आक्रमण तत्काल बन्द गर्न गृहमन्त्री बालकृष्ण खाणलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानन्यायाधीशकाे तपाईँको सम्मानजनक बर्हिगमन भनेको राजीनामा हो । राजीनामाको बटमलाइन भन्दा तल हामी जादैनौँ भनेपछि कति दिन उहाँले जित गरेर बस्नुहुन्छ ? जनमत सिर्जना गरौँ, आज हामीले एउटा गेट बन्द गरिराख्या छौँ । अर्को गेट बन्द गरेका छैनौँ । भोलि यस्तो पनि स्थिति पैदा हुन्छ कि अर्को गेट पनि बन्द गर्ने । अर्को गेट बन्द गर्नुपर्ने स्थिति पैदा हुँदैछ । यदि उहाँले सम्मानजनक बर्हिगमनको बाटो लिनुहुन्न भने अर्को गेट पनि बाध्य भएर बन्द गर्नेछौँ । प्रधानन्यायाधीशले न्याय मन्दिरको परिसरमा प्रहरी निम्त्याउनु भयाे, गृह प्रशासनसँग मिलेमतो गरेर । गृह प्रशासनले जुन किसिमको काम गरिराख्या छ, यसलाई तत्काल बन्द गर्नका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु । बर्बरतापूर्ण आक्रमणका लागि प्रहरी खटाउनुभएको छ, तत्काल बन्द गर्नुस् ।’​

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग ‘बेन्च शेयर’ गरेमा आफूहरूले  बेन्च (इजलास) बहिष्कार गर्ने बताउनुभएको छ । वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेन्चमा बसे बार एसोसिएशनको आपत्ति रहने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशलाई वैधता दिने कामलाई आफूहरूले स्वीकार नगर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता शाक्यले भन्नुभयो, ‘तपाईँ (न्यायाधीश) को कुनै पनि प्रक्रियाले प्रधानन्यायाधीशलाई वैधता प्रदान गर्ने कुनै पनि कदमप्रति हाम्रो सहमति, समझदारी र स्वीकार्यता हुँदैन । हाम्रो आन्दोलन निरन्तर रहन्छ । अटोमेशनबाट जानुपर्छ, अटोमेशन नभएसम्म गोलाप्रथाबाट जानुपर्छ भन्ने कुरा हाम्रो पनि माग हो । हरिकृष्ण कार्कीको प्रतिवेदनको पनि एउटा महत्त्वपूर्ण माग हो । त्यस प्रक्रियामा जाने कुरामा हामीलाई केही पनि भन्नु छैन तर त्यो गोलाप्रथाबाट यदि प्रधानन्यायाधीशले गोलाप्रथा लिने र उहाँको बेन्चमा बस्ने कार्य भयो भने त्यसमा हाम्रो घोर आपत्ति हुन्छ । जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेन्च शेयर गर्छ त्यो बेन्चलाई हामी बहिष्कार गर्छाैँ, हामी त्यसमा बहस गर्दैनौँ । हाम्रो बारको जुन फिर्ता नआउने आन्दोलन छ, त्यसलाई कुनै पनि किसिमले निस्तेज पार्ने, निष्क्रिय पार्ने किसिमको उद्देश्यले यदि कसैले पनि कुनै कदम चाल्यो भने हाम्रो सहमति हुँदैन ।’

उहाँले न्यायाधीश र कानुन व्यवसायीहरूले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशलाई डुब्दै गरेको घामको संज्ञा दिनुभयो ।

नेपाल बार एसोसिएशनले आज शुक्रवार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरू प्रकाश महर्जन, कपिल पोखरेल, निकेश श्रेष्ठ, युवराज बञ्जाडे, रोमन कर्ण, ऋषिराम घिमिरे, गोपाल सापकोटा लगायत घाइते हुनुभएको बारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*