पाँचथर सामूहिक हत्याको थप प्रमाण फेला पर्यो, शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी

पाँचथर–प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।
यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।
श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए ।