सहमतिलाई बङ्गाएर बुझियो : विश्वप्रकाश शर्मा
पार्टीको १३ औँ महाधिवेशनका बेलामा गरिएको भनिएको सहमतिको कुरालाई लिएर झापा कांग्रेसका दुई धारबीचमा यतिबेला विवाद निस्किएको छ। २०७२ फागुन २५ गते गरिएको ९ बुँदे लिखित सहमतिलाई लिएर झापा कांग्रेसमा विवाद चुलिएको हो।
जुन बुँदामा सहमतिको कुरा गरिएको छ त्यसको बुझाइ फरक परेपछि प्रतिवादमा अर्को समूह उत्रेको छ। सभापतिमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल वर्तमान काङ्ग्रेस झापा उपसभापति र देउमान थेवे पूर्वउपसभापति हुन्।
निर्वाचन क्षेत्र प्रदेश, निर्वाचन क्षेत्र जिल्ला अधिवेशन नजिकिएसँगै झापामा सिटौला र शर्मा पक्षमा नेता कार्यकर्ताबीच विवाद सुरु भएको छ। शीर्ष नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा देउमान थेवे र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको समर्थनमा राम कट्टेल सभापतिमा उठेपछि सात वर्षअघि भएको सहमतिको चर्चा भएको हो।
कट्टेल पक्षले भद्र सहमतिको भनाइलाई बङ्गाएर थेबे समूहले सभापतिमा दाबी गरेको आरोप लगाएको छ। कट्टेल पक्षले भने सहमति नै नभएको कुरालाई थेवे पक्षले जबर्जस्त सहमति भएको बनाउने प्रयास गरेको भन्दै झापामा शुक्रबार पत्रकार सम्मेलन गरेको थियो।
पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले दुई दिनअघि झापाकै शिवसताक्षीमा भएको एक कार्यक्रममा प्रवक्ता शर्मालाई ुसानो मान्छेु ले आफैँले गरेको सहमति नमानेको सार्वजनिक अभिव्यक्ति दिएपछि यो विवादको वास्तविकता के हो भन्ने विषयमा सबैको चासो बढेको थियो।
त्यतिबेला भएको सहमतिमा १४ औँ महाधिवेशनमा थेवेलाई पार्टी सभापति बनाउने बुँदा रहेको दाबी थेवे पक्षले गर्दै आएको छ। सहमतिपत्रमा कहीँ पनि त्यो किसिमको भनाइको बुँदा उल्लेख भएको छैन भनेर कट्टेल पक्षले दाबी गर्दै आएको छ।।
सो सहमतिको १ नम्बर बुँदामा ुसभापति पदका उम्मेदवार देउमान थेवेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मूल्याङ्कन गर्दै उहाँको राजनीतिक भूमिकालाई सम्बोधन गर्नेु लेखिएको छ। सोही बुँदालाई थेवे पक्षले अपव्याख्या गरी भ्रम सिर्जना गरिएको कट्टेल पक्षले पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेको थियो।
बुढाथोकीले शर्मालाई सानो मान्छेको संज्ञा दिंदै ुम ६ फुटको मान्छे साक्षी र त्यो सानो मान्छेले पनि सम्झौतामा सही गरेको हो, अहिले होइन भनेर भन्दै हुनुहुन्छ। सानो मान्छे पत्याउँदैन।ु आफूलाई मन नपरेको मान्छे भएर विश्वप्रकाशले देउमानको विरोध गरेको दाबी बुढाथोकीले गरेका थिए।
हुँदै नभएको कुरा गरेर पार्टी प्रवक्तालाई गलत साबित गर्न खोजेको पत्रकार सम्मेलनमा भनिएको थियो। कात्तिक १७ गते झापाकै एक कार्यक्रममा जिल्ला सभापति उद्धब थापाले सहमति भङ्ग गरेको भन्दै प्रवक्ता शर्माको आलोचना गरेका थिए। जिल्लाभर भ्रम छरियो, हुँदै नभएको सहमतिलाई लिखित सहमति भनेर पार्टी प्रवक्ता र सभापतिका उम्मेदवार कट्टेललाई बेइमान देखाउन खोजिएको छ।
थेवेलाई नेता सिटौला र कट्टेललाई प्रवक्ता शर्माले सभापतिमा भित्री समर्थन गरेपछि झापामा पार्टी नेतृत्व दुई पक्षमा विभाजित भएको छ। थेवेको पक्षमा नेता सिटौला, केन्द्रीय सदस्य बुढाथोकी, झापा सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्वसभापति सुधिरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला उभिएका छन्। कट्टेलको पक्षमा प्रवक्ता शर्मा, सांसद महिन्द्राकुमारी लिम्बू, पूर्वसांसद उषा गुरुङ, काङ्ग्रेस झापा सचिवद्वय प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल उभिएका छन्।
उम्मेदवारी घोषणा गर्दा कमजोरी जस्ता देखिएका कट्टेलको पक्षमा जनमत बढ्दै गएपछि यो नभएको र नहुनु पर्ने विवाद निस्किएको प्रवक्ता शर्मा बताउँछन्। शर्माले भने, ‘सहमतिमा उल्लेख भएका कुरामा बुझाइ गलत भएको हो।’