रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार १०:५५

रुकुम पूर्व – विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगाे हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो ।

बिहिवार गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।

सिस्ने गाउँपालिका-१ ओख्रेनामा गाउँपालिकाकाे पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनियरिङ कम्पनी लिमिटेड पाल्पाले लिएको छ । कम्पनीले २०७७ साल फागुनमा सिस्ने-२ का दीपक बीसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो ।

बीसीले अबको डेढ महिनाभित्र विद्युत् आयोजना निर्माण सम्पन्न हुने बताउनुभयो । भौगोलिक विकटताका साथै सडक सुविधा नभएको यस ठाउँमा सामान लैजान ल्याइएका पेनिस्टक पाइप, ट्रान्सफर्मर लगायतका अधिकांश सामान रुकुमकोटमा थुप्रिएका थिए।

ती सामग्रीलाई आयोजना स्थलसम्म लैजान अन्य कुनै माध्यम नभएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका बीसीले बताउनुभयो । उहाँका अनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफर्मर, ई.एल.सी. प्यानल, जेनेरेटर, टर्वाइन, बेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्ट्यूब टर्वाइन र भल्भ लगायतका सामाग्रीहरु हेलिकप्टरमार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*