जनगणना : विवरण टिपाउँदा कर्णालीमा खस भाषालाई ध्यान दिन उत्तरदातालाई विज्ञको सुझाव

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १६:१०

जुम्ला – जनगणनामा विवरण टिपाउँदा कर्णालीमा खस भाषाको जगेर्ना गर्ने तरिकाले उत्तर दिन उत्तरदातालाई विज्ञले आग्रह गरेका छन् ।

जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खस भाषा बाेल्ने नागरिकलाई अनुराेध गर्नुभएकाे हाे ।

जनगणना २०६८ मा खस भाषा बोल्ने कर्णालीमै ३४ जना भएको तथ्याङ्क भएकाले यस पटक ध्यान दिन पालिकाकाे पनि जोड छ ।

भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन गणनामै समेट्नुपर्ने भन्दै नेपालका खस भाषीलाई अनुरोध गर्नुभएकाे छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले खस भाषामा जोड दिन उत्तरदातालाई अनुरोध गर्नुभयो ।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खस भाषाको जगेर्ना गर्नुपर्ने सुझाव दिनुभएको छ । जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृ भाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरू बताउँछन् ।

जिल्ला जनगणना कार्यालय जुम्लाले समेत गणकहरू घर–घर पठाएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शंकरदत्त भट्टकाअनुसार जुम्लामा पहिलो गणना प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँको गरिएको छ ।

प्रजिअ प्रसाईँको गणना गर्ने गणक विष्णुदेवी भण्डारीसहित जिल्लाभरि एक सय ६४ जना गणक खटाइएको छ । साथै ४१ जना सुपरभाइजर खटाइएको कार्यालयले जानकारी दिएको छ । जुम्लामा जनगणना २०६८ अनुसार एक लाख आठ हजार जनसङ्ख्या थियो । यसपालि केही बढ्ने देखिन्छ ।

उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ वटा प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*