दयाहाङले घोषणा गरे ‘आप्पा स्टोरी च्यालेन्ज’

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:५७

दर्शकलाई फिल्मप्रति आकर्षित गर्नका निमित्त फिल्ममेकर विभिन्न खालको प्रचार शैली अपनाउने गरेका छन् । आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर फिल्म आप्पाले पनि रिलिज काउन डाउन सुरु भएसँगै प्रचारको नयाँ योजना अगाडि सारेको छ । बाबु-छोराको कथा वाचन गर्ने फिल्मले ‘आप्पा स्टोरी च्यालेन्ज’ घोषणा गरेको छ ।
एक भिडियोमार्फत् अभिनेता दयाहाङले यस विषयमा जानकारी गराएका छन् । फिल्ममा उनले आप्पा (पिता) को भूमिका निभाएका छन् । ‘आप्पा स्टोरी च्यालेन्ज’ मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । ‘फोटो स्टोरी च्यालेन्ज’ मा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै आप्पा (पिता) लाई भन्न मन लागेको कुरा लेख्नु पर्नेछ । र, त्यस पोस्टलाई ‘आप्पा नेपाली मुभी’ को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ ।
साथै, उक्त पोस्ट आफ्नो ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नु पर्नेछ । यस्तै, भिडियो स्टोरीमार्फत् पनि सहभागिता जनाउन सकिने अभिनेता राईले जानकारी दिए । आप्पा (पिता) सँगको भिडियो अपलोड गरेर आप्पालाई भन्न मन लागेको कुरा बताउनु पर्नेछ । र, ‘आप्पा’ फिल्मको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गर्नुपर्ने छ ।
च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायिक हुन्छ,  त्यसलाई  विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ फिल्मको प्रिमियरमा दुईवटा टिकट प्राप्त गर्नेछन् । भने, भिडियो स्टोरीतर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुईवटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गतेभित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।अनमोल गुरुङ निर्देशित फिल्ममा सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित फिल्ममा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ । रुदेन सदा लेप्चाले निर्माण गरेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । फिल्मको कार्यकारी निर्माता मबो चेम्जोङ हुन् ।
फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*