इन्डोनेशिया निर्वाचन: परिणाम घोषणा भएपछि हिंसात्मक प्रदर्शन, कैयौँ गिरफ्तार

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके।
त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन परिणाम आउँदा विडोडोले आफ्ना चिरकालीन प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोलाई पराजित गरेका थिए।जाकार्ताका गभर्नरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो हिंसामा परी छ जनाको ज्यान गएको छ भने २०० जना घाइते भएका छन्।