रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह
एक समयकी सफल अभिनेत्री निरुता सिंहले करीब एक दशकपछि फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट अभिनयमा पुनरागमन गरिन् । फिल्ममा उनी बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिकामा थिइन् । फिल्ममा छोटो भूमिका भए पनि उनको अभिनय सशक्त थियो । यसपछि उनले महजोडीको फिल्म ‘दाल भात तरकारी’ मा अभिनेता पुष्प खड्काको आमा भएर अभिनय गरिन् ।
उनीभन्दा अगाडिका केही अभिनेत्रीहरु अझै पनि फिल्ममा आमाको भूमिकामा अभिनय गर्न तयार छैनन् । तर, निरुता भने आफ्नो उमेर सुहाउँदो भूमिकामा काम गर्न तयार हुने गरेकी छन् । उनी समय अनुसार कलाकारको भूमिका परिवर्तन हुने र त्यसलाई स्वीकार गर्न सक्नुपर्ने बताउँछिन् । आफूलाई रोल राम्रो लागे आमाको भूमिकामा अभिनय गर्न तयार रहेको उनको भनाई छ ।
मंगलवार ‘डान्स च्याम्यिपन’ को घोषणा सभामा उनले भनिन्, ‘समय अनुसार भूमिका परिवर्तन हुँदै जान्छ र त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । अहिले आएर मैले कलेज पढ्ने युवतीको भूमिकामा अभिनय गर्छु भनेर भन्न मिल्दैन । रोल राम्रो लाग्यो भने आमाको भूमिकामा अभिनय गर्न तयार छु ।’ करिअरको उत्कर्षमा रहँदा पनि आफूले आमाको भूमिकामा अभिनय गरेको उनी सम्झन्छिन् ।
‘मैले अहिलेदेखि होइन पहिलैदेखि फिल्ममा आमाको भूमिका निर्वाह गर्दै आएको छु । ‘दर्पण छायाँ’ भन्दा अगाडि ‘१६ वर्षे जोवन’ मा दीलिप रायमाझी मेरो छोरा हुनुहुन्थ्यो । फिल्म ‘खानदान’ मा सुशील क्षेत्री पनि मेरो छोरा हुनुहुन्थ्यो । त्यति मात्र होइन ‘धर्मपुत्र’ मा राजेश हमालको समेत म आमा बनेको छु । मलाई फिल्ममा आमाको भूमिकामा अभिनय गर्न आपत्ति छैन,’ उनले भनिन् ।
आफू अभिनयकै कारण यो स्थानसम्म आइपुगेको बताउँदै निरुताले आफूले अभिनय छाड्न नसक्ने बताइन् । अभिनय आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनको भनाई छ । उनी भन्छिन्, ‘यतिका वर्षसम्म मैले गरेका कामलाई दर्शकले मन पराइदिनुभयो । मलाई दर्शकले कहिल्यै हिरोइन सम्झिनु भएन, सधैं आफ्नै घरको सदस्य मान्नु भयो । अनि म कसरी अभिनय छाड्न सक्छु र रु’
कान्तिपुर टेलिभिजनमा यही कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको ‘डान्स च्याम्यिपन’ को निर्णायक बन्न भारतबाट नेपाल आएकी निरुता पहिलो पटक कुनै रियालिटी शोको निर्णय बनेकी हुन् । कान्तिपुर टेलिभिजनमा कात्तिक २५ गतेबाट प्रशारण हुन लागेको यो शोमा निरुताको साथमा जगत रावल र आश्मा विश्वकर्मा निर्णायकको रुपमा छन् । यसको निर्देशक गजित बिष्ट हुन् । फिल्मीखबरबाट