पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना
लमजुङ – बुङ झरना अवलोकन गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय देशमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा रहेकाे लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।
कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक एक सय ५० जनासम्म आउन थालेका छन् । केही दिनअघिसम्म मुस्किलले दुई/चार जना पर्यटक आउने गरेकामा पनि यति बेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ । यो झरना रमणीय एवम् सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।
झरनाको वारि च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दुरीमा पर्ने यो छहरा वर्षाका बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गरेका स्थानीयवासीको भनाइ थियो । यति बेला पर्यटक आगमनको याम भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोरदोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।
त्यस्तै त्यही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो झरना बेँसीसहरकाे चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताउनुभयो ।
यस्तो झरना देख्दा नहेरि कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफैँलाई बिर्सेर स्वर्गमा पुगेको अनुभूति भएको उहाँको भनाइ थियो । उहाँजस्तै यहाँ आउने जो कोहीले पनि अवलोकनपछि स्वर्ग नै पुगेको अनुभूति भएको बताउने गर्दछन् ।
मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुप्रै पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवर्द्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।