त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु

काठमाडौं । त्रिशूली–काठमाडौँ २२० के.भी. ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडाँैको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) हुनेछ ।
परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनमा विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारी समेत छ । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तार लगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ ।
परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ ।
नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।
प्रसारण लाइन निर्माणमा नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक कि.मी. दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ ।
प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ ।
चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको आयोजना निर्माणमा रु. दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ ।
रासस