नेपाल–भियतनाम उच्चस्तरीय वार्ता : लगानी र व्यापार प्रवर्द्धन गर्ने सहमति

काठमाडाैं । नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार प्रवर्द्धन गर्ने समझदारी भएको छ । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र समकक्षी ङुयेन सुआन फुकबीच शनिबार भएको औपचारिक वार्तामा भिसा सहजीकरणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । सहमतिपछि कूटनीतिक तथा सरकारी राहदानीवाहकले विनाभिसा मुलुक प्रवेश पाउनेछन् ।
दुई मुलुकबीच नागरिकस्तरमा सम्बन्ध विस्तारका लागि परराष्ट्रसचिवस्तरीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ । दुवै देशका गृह मन्त्रालय स्तरमा अपराध नियन्त्रणको अनुभव आदानप्रदान गर्ने सहमति पनि भएको छ ।
दक्षिण–पूर्वी एसियाको पहिलो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली बिहीबार भियतनाम पुगेका हुन् । शनिबार उनले भियतनामी प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । वार्तापछि १६ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ । भियतनामले नेपाल भ्रमण वर्ष, २०२० लाई सघाउने वचन दिएको छ । उसले बुद्धको जन्मभूमि लुम्बिनी जान नागरिकलाई प्रोत्साहित गर्ने पनि वचन दिएको छ । दुवै पक्षले प्रत्यक्ष हवाई सेवा स्थापना हुनुपर्नेमा सहमति जनाएका छन् । सम्बन्धित मन्त्रालय र अधिकारीलाई हवाई सेवा स्थापनाका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दुवै प्रधानमन्त्रीले दिएका छन् । (नयाँपत्रिका दैनिकबाट)