तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने

बन्द रहेको तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आगामी जेठ महिनाको मध्यदेखि पुनःसञ्चालन हुने गरी काम भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा उनले यही ‘मे’ महिना अर्थात जेठ १७ भित्रै सञ्चालनमा ल्याउने गरी दुवै मुलुकतिर उक्त नाकाका आवश्यक पूर्वाधारका काम भइरहेको बताए ।
तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे। गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन । सांसदको जिज्ञासापछि उनले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए ।