‘लाइफ इन एलए’ मा शिल्पाको प्रवेश

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार ०७:१०

अभिनेत्री शिल्पा मास्के दुई वर्षपछि नयाँ फिल्ममा आबद्ध भएकी छन् । फिल्म ‘लाइफ इन एलए’ मा उनको प्रवेश भएको हो । एक हप्तादेखि तनहुँ क्षेत्रमा फिल्मको छायांकन भइरहेको छ । निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ गीतको छायांकनका केही तस्विरहरु सार्वजनिक गरेको छ, जसमा शिल्पालाई नव(अभिनेता व्यास बिस्सुसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको फिल्ममा गौरव पहारी, अकेसा विष्ट, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतका कलाकारको पनि अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरिरहेका छन् । ‘लाइफ इन एलए’ मा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् ।

फिल्ममा एलिस कार्कीको संगीत, बाबु श्रेष्ठरक्रिस वारेनको छायांकन र कविराज गहतरावजको कोरियोग्राफी रहेको छ । यो फिल्मबाट अकेसा विष्टले ६ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेकी हुन् । फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । फिल्मको छायांकनका लागि उनी यसै हप्ता नेपाल ओर्लिएकी छन् ।

कोरोनाका कारण सरकारले छायांकनको अनुमति नदिए पनि निर्माताहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गरिरहेका छन् । दुई हप्तादेखि फिल्म ‘आँधी तुफान २’ को पनि छायांकन भइरहेको छ । भदौ पहिलो साताबाट निर्देशक शोभित बस्नेतले ‘डाँडाको बर पीपल’ फिल्मको छायांकन सुरु गर्दैछन् । यसरी हेर्दा, अब निर्माताहरु फिल्म निर्माणमा तातेको देखिन्छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*