‘मेरो सरकार’ बारे प्रचण्ड भन्छन्, ‘मैले पढ्दा थिएन, कति बेला राखिएछ, थाहा छैन’

जनपत्र
२२ बैशाख २०७६, आईतवार ०६:४४

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए।

यो खबर आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन्।‘अरू विषयमा छलफल भएको थियो,’ दाहालले भने, ‘मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी छैन।’बैठकमा सांसद रामकुमारी झाँक्रीले ‘मेरो सरकार’ भनिएकामा आपत्ति जनाएकी थिइन् । ‘यो भाषा बेठीक छ । गणतन्त्रमा यस्तो भाषा सुहाउँदैन,’ उनले भनिन् । बैठकपछि झाँक्रीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी छन्, ‘मेरो सरकार भन्ने चलन संसारभरि छ भन्ने भनाइसँग सहमत हुन सकिएन । आफ्नो फरक मत राख्दै नीति तथा कार्यक्रम पास गर्न भोट हाल्नेछु।’बैठकमा सांसद जनार्दन शर्माले मेरो सरकार भन्ने भाषाले राष्ट्रपति विवादमा परेकाले यसलाई सरकारले प्रस्ट पार्नुपर्ने बताए । सांसदहरूले आलोचना गरेपछि नेताहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार नै यस्तो भाषा राखिएको भन्दै सम्झाउने प्रयास गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*