नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार
काठमाडौं– नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।
नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ ।
दुई देशका बीचमा सरकारीस्तरमा नै संयुक्त संयन्त्रसमेत गठन भएको र त्यसको नियमति छलफल तथा विचार आदानप्रदान भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा बङ्गलादेशको भ्रमण गर्नुभएको र बङ्गलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालको भ्रमणसमेत गरिससकेका छन् । सरकार–सरकार, सरकार–निजी क्षेत्र तथा निजी–निजी क्षेत्र मिलेर संयुक्तरुपमा काम गर्न सक्ने संयन्त्रको खोजी भइरहेका बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ‘इपान’ को प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरेको थियो ।