मनहरीको वनकरीया वस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक रुपमा अगाडी बढ्छौं–सन्तोषी वनकरीया

जनपत्र
२५ जेष्ठ २०७८, मंगलवार ०६:४४

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरीया वस्तीमा होमस्टे निर्माण गरिएको छ । व्यावसायीक रुपमा सञ्चालन गर्नेगरी होमस्टे निर्माण गरिएको हो । वनकरीया वस्तीमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भटराइ आएर बास बसेको घरलाई मनहरी गाउँपालिकाले होमस्टेका रुपमा निर्माण गरिदिएको हो ।

यहाँको वनकरीया वस्तीलाई पनि पर्यटन प्रवर्दन गर्ने उदेस्यले होमस्टे निर्माण गरिएको हो । नेपालमै लोपन्मुख वनकरीया वस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस भन्ने उदेस्यले होमस्टे निर्माण गरिएको हो । मनहरी गाउँपालिकाको आठ लाख रुपैयाँ लगानीमा होमस्ट्रे निर्माण गरिएको अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

गाउँपालिकाको सहयोगमा निर्माण गरिएको होमस्ट्रेले वनकरीया वस्तीको झल्को दिने छ । एउटै भवनमा तीन वटा कोठा तयार गरिएको छ । होमस्टे निर्माणको काम सकिएको र अब तत्काल सञ्चालनमा ल्याइने स्थानीय सन्तोषी वनकरीया वताउनुहुन्छ ।

बाहिरबाट बस्नका लागि आएका पाहुनालाई बस्नेगरी सबै व्यवस्था मिलाउन लागिएको उहाँले वताउनुभयो । होमस्टे निर्माण भएर सञ्चालनमा आएपछी यस वस्तीका वनकरीयाहरुलाई आयाआर्जनका लागि थप सहयोग हुने उहाँले वताउनुभयो ।

वनकरीया वस्तीलाई बिस्तारै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने लक्ष रहेको वताउँदै मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेती भन्नुहुन्छ–‘वनकरीयालाई अहिले पनि खान लाउनकै समस्या छ । उनीहरुलाई सधै अरुले सहयोग गर्ने भन्दा पनि पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने र उनीहरुलाई आत्म निर्भर वनाउने सोचका साथ यहाँ होमस्टे निर्माण गरिएको हो ।’ वनकरीया वस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, संगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पीठोका परिकार खुवाउने लक्षका साथ होमस्टे निर्माण गरिएको उहाँल वताउनुभयो ।

पहिले अरुको सहयोगमा मात्र बस्दे आएका वनकरीयाहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै समेत लगाउन थालेका छन् । यहाँका २१ परिवारमा ९७ जना छन् । पहिले पर्यटक बस्नका लागि एउटा घर तयारी गरेको भएपनि गाउँपालिकाले आगामी वर्षमा पनि यो वस्तीका थप घरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि सहयोग गर्ने तयारी गरेको छ । यहाँको होमस्टे सञ्चालन गर्नका लागि छुट्टै समिति बनाएर काम गर्न सुरु गरिएको छ ।

यसैबीच २३ वर्षअघिसम्म चुरेघाँचको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपउन्मुख आदिवासी वनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको दशक बितेको छ। पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–४ हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन्।

सरकारले पक्की घरको आश्वासन दिएको दशक बिते पनि वनकरियालाई सरकारद्वारा दिइने सुविधा उसैले बनाएको मापदण्डकै कारण उपयोग गर्नबाट वञ्चित भएका हुन्। सीमान्तकृत समुदायलाई घर बनाइदिने भनिए पनि जग्गा आफ्नो हुनुपर्ने जनता आवास कार्यक्रमका मापदण्डका कारण प्रभावित भएको हो। वनको लिजमा बसेका उनीहरूको नाममा भवन निर्माणका लागि आएको बजेट आफ्नो नाममा जग्गा नभएका कारण पटकपटक फ्रिज भएर गएको छ।  यसै सरोफोरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले होमस्टे सञ्चालन गर्न लाग्नुभएका सन्तोषी बनकरीयासंग कुराकानी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*