विश्वासको मत पाउनेमा शंका छैन्, ढुक्क छु : बानियाँ

जनपत्र
२८ श्रावण २०८२, मंगलवार ११:१२

बागमती कांग्रेसभित्रको शक्तिसंघर्षले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिन चुनौती बनेको छ । बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार विश्वासको मत लिने कार्यक्रम छ । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी :

कांग्रेसभित्रको विवाद मिल्यो कि बाँकी छ ?

कांग्रेस पार्टी समुद्रको छालजस्तो हो । पार्टीमा सबै स्वतन्त्र छन् । फेरि एउटा दलीय व्यवस्थाको ह्वीप छ । त्यसको चाहिँ प्रक्रिया छ । ह्वीप जारी भएपछि साथीहरूले प्रक्रियालाई स्वीकार गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

बहादुरसिंह लामा पक्षले विश्वासको मत लिनुअघि नै आफूले नियुक्त गरेका तर शपथ लिन नपाएका तीन जनालाई मन्त्री नियुक्त गर्नुपर्ने सर्त अघि सारेको छ नि ?

त्यस्तो केही पनि छैन । बहादुरजी पनि कांग्रेसको केन्द्रीय सदस्य हो । राजनीतिक रूपमा उहाँले आफ्नो कुरा राख्नु, आफ्नो ठाउँमा स्वाभाविकै होला । यो विषय प्रदेशकै जिम्मेवारी हो । मैले केन्द्रीय सभापतिसँग परामर्श गरेको छु, तर मलाई यो बनाउनु, त्यो बनाउनु भनेर केही भनिएको छैन । विश्वासको मत टुंगिएपछि उहाँसँग सल्लाह गरेर यो विषय टुंग्याउने हो ।

तर, तपाईंले विश्वासको मत नलिँदै पार्टीभित्रैबाट अप्ठ्यारो पर्न थाल्यो नि ?

मैले हिजोको दिनमा पनि बहादुरजीलाई अप्ठ्यारो पार्न सक्थें । कस्तो–कस्तो व्यक्तिलाई मन्त्री बनाउने भन्नेबारे दलको विधानमै मापदण्ड बनाएर तोक्ने उल्लेख छ । मापदण्ड बनाएर केन्द्रलाई पठाएर, अनि प्रदेशलाई म प्रदेशको सभापतिसमेत भएकाले निर्देशन दिन मिल्थ्यो । तर, बहादुरजीलाई मुख्यमन्त्रीका रूपमा काम गर्नलाई स्वतन्त्र छोडें । म पार्टीको प्रदेश सभापति पनि भएकाले काममा अप्ठ्यारो पार्न सक्थें । तर, त्यसरी अंकुश लगाएर अप्ठ्यारो पार्नु हुँदैन भनेर मैले स्वतन्त्र काम गर्न दिएको हो । मैले चाहेको भए, फलानो–फलानो यो मन्त्रालयको क्राइटेरियामा पर्छन्, यो अनुसार गर्नुस् भनेर निर्देशन दिन सक्थे । तर त्यस्तो काम केही पनि गरिनँ ।

संसदीय दलको चुनावमा उहाँले २१ भोट ल्याउँदा मैले १६ भोट ल्याएको हो । त्यसैले मैले काम गर्न मार्गप्रशस्त गरिदिएँ । किन अप्ठ्यारो पारिनँ भन्दा लोकतन्त्रमा एउटा पद्धति हुन्छ । हामीले पदलाई भन्दा पद्धतिलाई प्राथमिकता दिने हो । अहिले यो अवस्था सिर्जना गर्ने मेरो मन थिएन । पार्टीको नेतृत्वसँग भएको सहमति कार्यान्वयन नगरेपछि पार्टीभित्र अप्ठ्यारो पर्‍यो । म एउटा प्रक्रियामा जानुपर्‍यो । मेरो इच्छा थिएन । व्यक्तिगत रूपमा मलाई आवश्यकता पनि थिएन । सहमति कार्यान्वयन नगरेमा राजनीतिमा दुर्घटना हुन्छ । त्यसैले नचाहेको अप्ठ्यारो अवस्थाबाट आउनुपरेको हो ।

पार्टी सभापतिसँगको भेटमा तपाईंले तीन जनालाई मन्त्री बनाउने प्रतिबद्धता गरेपछि मात्रै बहादुरजीले राजीनामा दिएको भन्ने कुरा आएको छ नि ?

मैले प्रस्ट भनेको छु, नेतृत्वसँग बसेर परामर्श गरेर गर्ने विषय हो । बहादुरजीले आफ्नो कुरा राख्नु भएको छ । अब यो विश्वासको मत टुंगिएपछि परामर्श गरेरै जान्छु । राजनीतिमा म अप्ठ्यारो र अड्काउने मान्छे होइन । दललाई मिलाएर सबै साथीहरूलाई साथ लिएर जानुपर्छ भन्नेमा दृढ छु । अब म सबै सांसदकै नेतृत्व गरेर, सबैको विश्वास जितेर जानुपर्छ भन्नेमा प्रस्ट छु ।

तीन जनालाई मन्त्री बनाउने कुरा त गर्नुभएको हो नि ?

हिजो (आइतबार) पनि सभापतिसँग भेटेरै कुराकानी भएको हो । सभापतिज्यूले ‘यो बनाउनु, त्यो बनाउनु’ भनेर भन्नुभएको छैन । पहिलो कुरा यो प्रदेशको जिम्मेवारीको विषय हो । विश्वासको मत टुंगिएपछि बहादुरजीसँग पनि सल्लाह गरेर अघि बढ्ने हो ।

बहादुरसिंह लामा पक्षको सर्त त विश्वासको मत लिनुअघि मन्त्री नियुक्ति भइसक्नुपर्छ भन्नेछ नि ?

उहाँहरूले विश्वासको मत लिनुभन्दा अगाडि नै यो टुंग्याउनुपर्छ, नत्र विश्वास नै छैन भन्ने कुरा भन्नुहोला भन्ने मलाई लाग्दैन । यो दलभित्रको आन्तरिक कुरा हो । शान्ति सम्झौतामा जस्तो सर्त दलभित्र हुँदैन । प्रक्रियागत रूपमा टुंगिएको कुरालाई स्वीकार गर्नुपर्छ । बहादुरजीसँग छलफल भइरहेको छ । विश्वासको मतको प्रक्रिया टुंगिएपछि यो विषय टुंगिन्छ । यो शान्ति प्रक्रियाको सम्झौता होइन, हाम्रो दलभित्रको आन्तरिक कुरा हो । उहाँले प्रक्रियालाई स्वीकार गर्नुहुन्छ, मलाई विश्वास छ ।

मन्त्री नियुक्ति गर्नु भएन भने विश्वासको मत नदिने, सामूहिक राजीनामा दिनेसम्मका कुराहरू आएका छन् नि ?

उहाँहरूको यस्तो अभिव्यक्ति दुर्भाग्यपूर्ण हो । यद्यपि मैले यस्तो कुराबाट कुनै पनि दबाब महसुस गरेको छैन । लोकतन्त्रमा यस्ता कुराहरू आउँछ । आवाजहरू सुनिन्छन् । त्यसलाई समझदारीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ । लोकतन्त्र भनेको वाद, विवाद, संवाद र समाधान हो । मैले साथीहरूको भावनालाई समेटेर अगाडि बढ्नुपर्छ । यो लोकतन्त्रको मर्यादा हो । यो प्रक्रियागत कुरा हो ।

लामा पक्षका १४ जनाको साथ पाउनु भएन भने त विश्वासको मत लिन कठिनाइ छ नि ?

दलीय व्यवस्थामा ह्वीप जारी भएपछि साथीहरूले विश्वासको मतको पक्षमा मतदान गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । म कुनै द्विविधामा छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*