भेनेजुएला, जहाँ चिहानका हड्डी पनि सुरक्षित छैनन् !

जनपत्र
१५ बैशाख २०७६, आईतवार ०६:४४

बीबीसी । भनेजुएलाका वासिन्दा एलाडियो बाटिस्डा हरेक हप्ता आफ्नी पत्नीको चिहान ठीक छ छैन भनेर जाँच गर्न जाने गर्दछन् । अरुको जस्तैगरी आफ्नी पत्नीको चिहान पनि कतै लुटेराहरुको शिकार त भएको छैन भन्ने निश्चित गर्न उनी बारम्बार चिहानको निगरानीमा जाने गरेका हुन् ।

यसरी पछिल्लो समय राजनीतिक र आर्थिक संकटले आक्रान्त भेनेजुएलामा चिहान लुटिनु सामान्य बन्दै गइरहेको पाइएको छ । चोर र लुटेराहरुले राजधानी करकसकै सबैभन्दा ठूलो सिमेन्टरी, सिमेन्टेरिओ डेल सुरमा समेत अधिकांश चिहानहरु खोलेर तहसनहस पारेको देख्न सकिन्छ । यसरी अपराधीहरुले गरगहनादेखि, सुनको दाँत र हड्डी समेत चोरी गर्ने गरेका छन् । सान्टेरिया लगायत केही धर्म मान्नेहरुले अन्तिम संस्कारमा हड्डीको  प्रयोग गर्ने गरेको हुँदा लुटेराहरुले विक्रीका लागि चिहान भित्रबाट हड्डी समेत चोरेर लाने गरेका छन् । अपराधी समूहले सुनका दाँत लगायत  बहुमूल्य गरगहनाहरु भने खोजिखोजी लैजाने गरेको पाइन्छ । यस्तोमा एलाडियोलाई पनि कुनैदिन आफू पत्नीलाई भेट्न जाँदा उनको अन्तिम शेश बाँकी नरहने चिन्ताले हरपल सताउने गरेको उनी बताउँछन् ।

यसरी शोकमा रहेका आफन्तहरुका लागि यो अत्यन्तै दुःखद् कुरा बनेको छ । एलाडियोकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो । उनका अनुसार त्यसबेला उनी पत्नीको चिहानसम्म सजिलै पुग्न सक्थे तर अहिले चारैतिर भत्किएका र खोलिएका क्षतिग्रस्त चिहानहरुका कारण उनी पत्नीसम्म पुग्नै सक्दैनन् । सिमेन्टरीका कर्मचारीहरुका अनुसार त्यहाँ क्षति पुर्याउने क्रम यति  फैलिसकेको छ कि यसलाई रोक्न अब असम्भव भइसकेको छ । यस्तोमा साधारण मानिसका साथै ऐतिहासिक व्यक्तित्वका चिहानलाई समेत लुटेराहरुबाट बचाउन नसकिएको बताइएको छ ।

यसबारेमा एलाडियो भन्छन्, ‘यहाँ अब कुनै नियम कानुनको मतलब छैन र कुनै कुराप्रति कसैलाई सम्मान छैन । तरपनि भगवान्ले यस्तो अपराध गर्ने सबैलाई सजायँ दिनेछन् भन्ने मेरो विश्वास छ ।’  यसरी कतिपय परिवारले त पुनः मर्मत गरिएका चिहान फेरि नखोलियुन् भनेर तिनमा ‘यो चिहान लुटिएको छ’ भनेर समेत लेख्ने गरेका छन् । अहिले यो घटनाले पूरै देशभरको अवस्था स्पष्ट पारेको छ । यही कारणले एलाडियो जस्तै अर्का व्यक्ति, जर्ज लिस्कानो लुटिनु अगाडि नै  चिहानबाट आफ्ना आफन्तको शेष बाहिर निकाल्न चाहान्छन् । उनी भन्छन्, ‘यो सामाजिक पतन र अशिक्षाको परीणाम हो । किनकी हाम्रो घरमा नै मूल्य मान्यताहरु गुम्दै गइसकेका छन् । हामी के कुराले मानव भएका हौँ भन्ने नै सबैले भुलिसकेका छन् ।’  यो विषय सम्बन्धी सन् २०१६ मा सरकारले सुरक्षामा समस्या भएको स्वीकार गरेको थियो तर त्यसबेला पुलिसहरुको सङ्ख्या बढाइएको दाबी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*