जहाँ मासु खानेको अभावमा जलाएर नष्ट गरिन्छ, महिलालाई मन्दिर निषेध

प्युठान- विविधतामा एकता। नेपाली समाजको परिदृश्य यही हो। जाति-सम्प्रदाय र धार्मिक मान्यता अनुसार संस्कार पनि हरेक ठाउँमा पृथक् हुने नै भयो।
पत्याउनुहुन्छ? नेपालकै एक ठाउँ यस्तोसम्म गरिन्छ। जहाँ मासु खानेको अभावमा पोलेर नष्ट गरिन्छ।
प्युठानको झिमरुक गाउँपालिका-८ अन्तर्गत स्नाथान धेरै नेपालीका अनौठो लाग्ने संस्कृति प्रचलनमा बाँचिरहेको छ। असोज र चैतमा हिन्दुहरुले मनाउने रामनवमीमा धार्मिक-पर्यटकीय स्थलका रुपमा नाम पाउँदै गरेको स्नाथानमा फरक प्रकृतिको प्रचलन देख्न पाइन्छ।
नयाँ वर्षको पहिलो दिन स्नाथान पुग्दा मासुमा आगो लगाई नष्ट गर्ने कार्य भइरहेको थियो। अघिल्लो दिन काटिएको पाठीको मासु खानेहरुको अभावमा आगोमा दनदनी जलाइँदै थियो।
किन नष्ट गरिन्छ मासु?
स्नाथानमा वर्षका दुई रामनवमीमा बलि दिने प्रथा छ। जसमा कालो पाठी अनिवार्य छ। अर्को प्रचलन पनि विद्यमान छ– पुरुष मात्रै मन्दिरमा प्रवेश पाउने। साथै, बलि दिएको पाठीको मासु महिलाले खान नहुने। काटिएको मासु घर लान नमिल्ने परम्परा पनि छ। यदि मासु घर लगेमा अशुभ हुने जनविश्वास अझै यहाँ कायम छ।
पुरुषले मात्रै खानुपर्ने बाध्यकारी प्रचलनले गर्दा बलिको मासु नष्ट हुँदै गएको छ। मासु नष्टको अर्को कारण बनेको छ– बलिको मासु पोलेर मात्रै खाने प्रचलन।
चैत ३० का दिन दिइएको बलिमा बचेको मासु पोलेर नष्ट गर्ने कार्य नयाँ वर्षको दोस्रो दिनसम्म जारी थियो। पोलेर नष्ट नगर्दा दुर्गन्ध फैलने हुनाले आगो बालेर नष्ट गरिँदै आएको स्थानीयहरु बताउँछन्। खान नसकी बचेको मासुलाई आगो लगाई जलाइरहँदा आकाशमा काग र गिद्धहरुले फन्को मारिरहेका थिए।
ऐतिहासिक धार्मिक महत्व बोकेको थानमा बलिका लागि आसपासका जिल्लाबाट असोज र चैतको रामनवमीमा २५० भन्दा बढी पाठीलाई बलि दिने गरिएको छ। यसका लागि प्युठान, दाङ, गुल्मी, कपिलवस्तु, रोल्पा लगायतका जिल्लाबाट पाठीहरु दुई दिन लगाएर स्नाथान पुर्याउने गरिएको छ।
बलि प्रथाको प्रचलन कहिलेदेखि सुरु भएको भन्ने यकिन छैन। किवंदन्ती अनुसार स्थानीय एक बस्नेतका पुर्खालाई सपनामा पुजारीले स्नाथानमा पूजा गर्ने विधि बताइसकेपछि पूजापाठको प्रचलन रहेको झिमरुक ८ का वडाध्यक्ष तुलसबहादुर बस्नेतले बताए।
मुख्यगरी वर्षका दुई दिन पञ्चपुजारीद्वारा बलि दिने प्रचलन रहेको छ। मुख्य मन्दिरको भित्री भागमा पुजारी बाहेकका अन्यलाई प्रवेश निषेध छ। देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता छ।
कानुनी रुपमा दलितहरुलाई रोकावट नभएको जनाउँदै वडाध्यक्ष बस्नेतले भने, ‘तर उहाँहरु स्वेच्छाले जानुहुन्न।’
बलि दिने क्रममा पुजारीहरुको हातले सिलाएको वस्त्र मात्रै प्रयोग गर्न पाउने अर्को परम्परा पनि यहाँ पाइन्छ। पुजारीको छनोट प्रक्रिया परम्परादेखि उस्तै रहँदै आएको छ। महतारा, पछाई, जिसी, थापा र पोखरेलहरु पुजारीको भूमिका निर्वाह गर्दै आएका छन्। नवरात्रको दिनमा सम्बन्धित जातिलाई सुपारी दिएपछि उक्त समुदायले आफ्नो तर्फको पुजारी छनोट गर्ने प्रचलन रहेको छ। स्नाथानमा मार हान्ने कार्य महतारा समुदायका पुजारीले गर्छन्।
यहाँको मौलिक पहिचान बचाउन र भौतिक संरचना निर्माणका लागि बस्नेतकै नेतृत्वमा व्यवस्थापन समिति बनेको छ। भौतिक संरचनाका लागि हालसम्म स्थानीय र प्रदेश सरकारले गरि ३६ लाख बजेट विनियोजन गरिएको छ। विनियोजित बजेटले स्नाथानमा पर्खाल लगाउने कार्य भएको छ। यहाँ सिढीँ पनि बनाइएको छ।
कालो पाठी ल्याउने भक्तजनबाट प्रतिपाठी एक सय रुपैयाँ उठाउने प्रचलन रहेको छ। भक्तजनले चढाएको रकम पुजारीहरुले बाँड्ने गरेका छन्।
संरचना निर्माणको अभाव खेपिरहेको स्नाथानलाई पर्यटकीय क्षेत्र बनाउने थप पहल भइरहेको वडाअध्यक्ष बस्नेतले जानकारी दिए।
नेपाललाईभबाट साभार