आत्मघाती गोल खाँदा बंगलादेशसँग हार्यो किर्गिस्तान
दशरथ रंगशाला त्रिपुरेश्वरमा सुरु भएको त्रिदेशीय फुटबल प्रतियोगितामा बंगलदेशले विजयी सुरुवात गरेको छ। किर्गिस्तानको यु–२३ टोलीलाई १–० ले बंगलादेशले हराएको हो। मंगलबार भएको खेलमा किर्गिस्तानको युवा टोलीले आत्माघाती गोल गर्दा बंगलादेश भाग्यमानी रह्यो।
पहिलो हाफको ३० औं मिनेटमा कुमारबाज उलु वाइयमानले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। बंगलादेशको सिनियर टोलीले किर्गिस्तानलाई पहिलोपटक हराएको हो। यसअघि सिनियर टिमसँग भने बंगलादेश चार पटक पराजित भएको थियो।
खेल अवधिभर दुवै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेनन्। खेलको अन्त्यतिर वैकल्पिक खेलाडी आर्तेक रिसकेल्दीको प्रहार आकासिँदा किर्गिस्तान बराबरीबाट चुक्यो।
जितपछि बंगलादेशले ३ अंक जोड्यो। जितसँगै बंगलादेशको फाइनल सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेल चैत १२ गते कीर्तिस्तानसँग खेल्नेछ। राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्ने छन्। विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्ने छ।






