स्थानीय तह शहिद स्मृति गोल्डकप: विभागिय टोली त्रिभुवन आर्मी सेमिफाइनलमा
हेटौंडा – विभागिय टोली त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्टी)को खेलमैदानमा शुक्रबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरको खेलमा आर्मीका दिपक गुरुङ, बिकास तामाङ, टंक बस्नेत र सेशाङ्ग आङ्देम्बे गोल गरेका थिए । आर्मीलाई जित दिलाउनको लागि गोलरक्षक बिवश चौधरी नायक बने ।
आर्मीका गोलरक्षक चौधरीले विदेशी खेलाडी भिडाल र राजेन्द्र रावलको प्रहार बचाउ गरेका थिए । जावलाखेलका रुप बहादुर लामा र विदेशी खेलाडी फोफनाले मात्रै गोल गरेका थिए ।
आर्मीलाई जित दिलाउनका लागि उत्कृष्ट खेल प्रर्दशन गरेका गोलरक्षक बिवश चौधरी खेलको म्यानअफ म्याच घोषित भए । उनले नगद १० हजार हात पारे ।
जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको आर्मीले सेमिफाइनल प्रवेशको लागि चैत ५ गते खेल्नेछ ।
चैत १ गते बागमती क्लब सर्लाही र विभागिय टोली एपिएफ क्लबबिच हुनेछ । बिजेताले चैत ३ गते विदेशी टोली अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुनसंग भिड्नेछ । सोही खेलको विजेतासंग चैत ५ गते त्रिभुवन आर्मीले फाइनल प्रवेशको लागि खेल्नेछ ।
भोली (शनिबार) संकटा क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ । खेल दिउँसो दुई बजेबाट शुरु हुनेछ ।
मकवानपुरका स्थानीय सरकारको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले बुलेट बाईक हात पार्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रहरखवरबाट ।






