मकवानपुरका स्थानीय तहको २०७५ साल
मकवानपुरमा रहेका १० वटा स्थानीय तहहरुको वर्ष २०७५ समग्रमा मिश्रित रहेको छ । स्थानीय तहहरुमा निर्वाचित भएर आएको २ वर्ष पुग्नै लाग्दा स्थानीय तहहरु भर्खर एउटा बाटो कोरेको हो कि भन्ने भान भएको छ । जनताले धेरै कुरामा आफ्नो र नजिकैको सरकार पाएको महसुस गर्न थालेका छन् । स्थानीय तहहरुले अघिल्लो वर्ष ऐन नियम कानुनकै अभावमा अल्मलिएका थिए भने यो वर्ष केहि प्रगति गरेका छन् । केहि कानुन बनेका छन् भने केहि बन्ने चरणमा छन्, जनताको सर्वांगिण विकासमा मकवानपुरका स्थानीय तहहरुले ध्यान दिएको पाईएको छ ।
संघीय नेपालको संविधान बमोजिम स्थानीय तहहरुको अधिकार सम्बन्धी व्यवस्था धेरै मात्रामा मकवानपुरका स्थानीय तहहरुमा कार्यान्वयन भएको छ भने अझै धेरै ऐन कानुन बनाउन बाँकी रहेको छ । तीनै तहका सरकारहरु बीच सहकार्य, सहअस्तित्व र समन्वयकारी भावना बढ्दै गएको पाईएको छ । जनसहभागिता, उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न स्थानीय तहहरु प्रतिबद्ध रहेको पाइएको छ । २०७५ सालमा मकवानपुरका स्थानीय तहहरुले त्यस्तै कुरामा बढी ध्यान दिएको पाईएको छ । लोकतान्त्रिक व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्दै स्थानीय तहमा नेतृत्व विकास गर्दै विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न मकवानपुरका स्थानीय तहहरुले वर्ष २०७५ लाई खर्च गरेका छन् ।
समग्रमा वर्ष २०७५ मा शिक्षा, स्वास्थ्य, यातायात, लगायतमा मकवानपुरका स्थानीय तहहरुमा जनताको पहुँच बढेको पाईएको छ । जनताले स्थानीय तहमा सहज प्राथमिक स्वास्थ्य सेवा, शिक्षामा सहज पहुँच, न्यायमा पहुँच, सामाजिक उत्तरदायित्वलगायतकाका कारण स्थानीय तहलाई आफ्नै तथा नजिकको सरकारका रुपमा ठान्न थालेको छ । जन सकारात्मक पक्ष हो ।
स्थानीय पुर्वाधारः मकवानपुरका स्थानीय तहहरुले सबै भन्दाबढी ध्यान दिएको र खर्च गरेको क्षेत्र स्थानीय पुर्वाधार नै हो । पालिकासम्म पुग्ने तथा शाखा सडक निर्माण, खानेपानी, विद्युत जस्ता पूर्वाधारको क्षेत्रमा स्थानीय तहहरुले विशेष रुपमा काम गरेको पाईएको छ ।
जनताको स्वास्थ्यमा पहुँचः मकवानपुरका स्थानीय तहहरुले जनताको स्वास्थ्यलाई ध्यान दिएका छन् । वर्ष २०७५ मा प्रायः सबै स्थानीय तहहरुले वडा कार्यालयहरुमा आधारभूत स्वास्थ्यको सुनिश्चितता गरेका छन् । मकवानपुरका स्थानीय तहहरुले स्वास्थ्यमा पहुँच बढाउन स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु, मातृ–शिशु मृत्युदर कम गर्न सुत्केरी भत्ता, विभिन्न शिविरलगायतका कार्यक्रम गरेको पाईएको छ ।
शिक्षामा पहुँचः स्थानीयतहरुले जनताको शिक्षामा पहुँच बढाउन स्थानीय पाठ्यक्रम तयार गर्नुका साथै आधारभुत तहसम्मको परीक्षा समेत पालिकाहरुबाटै संचालन गरेका छन् । शिक्षा सम्बन्धी विभिन्न कार्यक्रममा मकवानपुरका स्थानीय तहहरुले काम गरेको पाईएको छ तर पनि निजि विद्यालयसँगको प्रतिष्पर्धामा भने सामुदायिक विद्यालयले प्रतिफल पाउन भने वर्ष २०७५ मा सकेका छैनन् । शिक्षामा पहुँचका लागि सबै सामुदायिक विद्यालयमा बालविकास केन्द्रदेखि बालबालिकालाई लक्षित गरी विद्यालय दिवा खाजा कार्यक्रम समेत कार्यान्वयन गरिएको छ ।
आधुनिक कृषि र पर्यटनः आधुनिक कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको मकवानपुरमा स्थानीय तहहरुले यस क्षेलाई पनि विशेष ध्यान दिएको पाईएको छ । अघिल्लो आर्थिक वर्षमा विभिन्न कारणले समेट्न नसके तापनि वर्ष २०७५ मा स्थानीय तहहरुले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ लिएको पाईएको छ । कृषि र पर्यटनबाटै मकवानपुरको समृद्धि हुन सक्ने निचोडमा पुगेका स्थानीय तहहरुले यो वर्ष आधुनिक कृषि र पर्यटनमा जनताको सहभागितामा ध्यान दिएको पाईएको छ ।
न्यायमा पहुँचः कार्यपालिका व्यवस्थापिका र न्यायपालिका सहितको अधिकार रहेको मकवानपुरका स्थानीय तहहरुमा वर्ष २०७५ मा न्यायमा जनताको पहुँच पुर्याएको पाईएको छ । जिल्लामा हरेक स्थानीय तहहरुमा न्यायिक समिति गठन भएका छन् भने वडाहरुमा मेलमिलापकर्ता मार्फत जनताको सामान्य समस्याहरुलाई सुल्झाउने काम २०७५ सालमा मकवानपुरका स्थानीय तहहरुले गरेका छन् । धेरै झै झगडाहरु अहिले स्थानीय तहमै समाधान हुने गरेका छन् । जसले जनतामा सरकारको उपस्थिति भएको महसुस भएको पाईएको छ ।
यी बाहेक वर्ष २०७५ मा मकवानपुरका स्थानीय तहहरुमा उपलब्धीमुलक र आसलाग्दो कामहरु भएका छन् । सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा भएको छ । त्यस्तै जिल्लाका स्थानीय तहहरुमा समान कामको समान ज्याला कार्यान्वयनकै चरणमा रहेको छ । सामाजिक विभेदको अन्त्य भएको पाईएको छ । बालविवाह, बालश्रम, हिंसा लगायतका क्षेत्रमा स्थानीय तहहरुले वर्ष २०७५ मा सकारात्मक प्रगति गरेको छ । स्थानीय तहहरुले बालमैत्री, महिलामैत्री, अपाङगमैत्री समाज निर्माणसहित हिंसामुक्त समाज निर्माणमा महत्वपुर्ण उपलब्धी हासिल गरेको छ । तर अझै पनि मकवानपुरमा स्थानीय तहहरुले धेरै कुरा गर्न बाँकी छ । जनताले विश्वास गर्ने र अपनत्व लिन सक्ने बन्नु जरुरी छ, जुन कुरा वर्ष २०७६ मा पुरा होस । नयाँ वर्ष २०७६ को शुभकामना ।।