शिवप्रति करिश्माको कटाक्ष- ‘अरुलाई दोष दिएर महत्त्वपूर्ण बनाउन चाहन्नँ’

जनपत्र
११ माघ २०७७, आईतवार ०६:४६

अभिनेता शिव श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धर एक समयको हिट जोडी हो । ‘मनकामना, ट्रक ड्राइभर, आर्शिवाद’ जस्ता फिल्ममा उनीहरुले गरेको अभिनयको अहिले पनि चर्चा हुन्छ । तर, डेढ दशकदेखि भने दर्शकहरुले यो जोडीलाई एकसाथ काँचको पर्दामा हेर्न पाएका छैनन् । करिश्मा त पछिल्लो समय अभिनयबाट निस्क्रियझैँ छिन् । शिवले भने फिल्ममा काम गरिरहेका छन् ।

तीन दशकभन्दा लामो समय फिल्म क्षेत्रमा विताइसकेका शिव र करिश्माबीच करिअरको उत्कर्षमा रहँदादेखि नै एकअर्कासँग राम्रो सम्बन्ध थियो । उनीहरुमा एकअर्काप्रति सधैं आदर र सम्मान देखिन्थ्यो । तर, अहिले उनीहरुको सम्बन्धमा त्तिक्तता आएको छ । यही माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले उनीहरुको मित्रवत सम्बन्धमा फाटो ल्याएको हो ।

यो फिल्मबाट करिश्माकी छोरी कविता र शिवका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् । छायांकनको क्रममा स्क्रिप्ट हेरफेर गरेर उनीहरुलाई फिल्ममा प्रवेश गराइएको थियो । घोषणाको समयमा गरिएको तामझाम हेर्दा धेरैलाई फिल्म राम्रो बन्ने अपेक्षा थियो । तर, जुन चिजमा बढी अपेक्षा हुन्छ, त्यसबाट निराशा भोग्नुपर्छ भनेझैँ यो फिल्मले पनि आशालाई निराशामा बदल्यो ।

फिल्म प्रदर्शनमा त आयो तर सिनेमा हलसम्म दर्शक आएनन् । पहिलो दिनबाटै दर्शकको खडेरी भोगेको फिल्मले शहरका भित्तामा पोस्टर टाँस्न बनाइएको माडको समेत पैसा उठाउन गाह्रो पर्ने देखिन्छ । प्रदर्शनको पहिलो हप्तामै पत्तासाफ भएको फिल्मले दर्शकलाई सिनेमा हलमा १० मिनेट पनि बाँध्न सकेको छैन । समीक्षकले शिव श्रेष्ठको करिअरकै सबैभन्दा कमजोर फिल्म भनेका छन् ।

निर्माताबीचको मनमुटावले यो फिल्म निर्माणकै क्रममा रोकिएको थियो । यसपछि थन्किएको फिल्म पूरा छायांकनै नभइ प्रदर्शन गरिएको हो । प्रियंका कार्की, वर्षा राउतलगायतका कलाकारहरुको डबिङ नै गरिएको छैन । स्क्रिप्ट अनुसार छायांकन नभएको भन्दै फिल्मका मुख्य कलाकारले प्रचार(प्रसार नै बहिस्कार गरेका थिए । अन्ततः दर्शकले पनि फिल्म बहिष्कार गरे ।

करिश्माकी छोरी र शिवका छोरीले अभिनयमा डेब्यू गरेका कारण दर्शक, मिडियाकर्मी र फिल्मकर्मीलाई ‘एउटा यस्तो प्रेम कहानी’ प्रति ठूलो आश र अपेक्षा थियो । तर, फिल्म औसतभन्दा पनि कमजोर बन्दा कविता र शक्तिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । फिल्म हेर्ने कसैले पनि उनीहरुको अभिनयको प्रशंसा गरेका छैनन् । जसले गर्दा उनीहरुको करिअर संकटमा परेको छ ।


करिश्माले अभिनेता श्रेष्ठलाई यो फिल्म प्रदर्शन नगर्न सुझाव समेत दिएको स्रोत बताउँछ । कविताको सिन घटाएको भन्दै उनी शिवसँग रुष्ट पनि थिइन् । यही कारण उनले छोरीलाई फिल्मको प्रचार(प्रचारमा हिँड्न समेत दिइनन् । करिश्माले अहिलेसम्म छोरीको डेब्यू फिल्म हलमा गएर हेरेकी पनि छैनन् । यो फिल्मले गर्दा शिव र करिश्माको वर्षौदेखिको मित्रतामा फाटो आएको छ ।

बुधवार साँझ करिश्माले आफ्नो फेसबुकमा लेखेको एउटा स्टाटसले पनि शिव श्रेष्ठसँँग उनको पानी बाराबारको सम्बन्ध भएको पुष्टि गर्छ । छोरीले अभिनय गरेको फिल्मको शीर्ष गीत शेयर गर्दै उनले घमाउरो शैलीमा शिवप्रति कटाक्ष गर्दै लेखेकी छन्, ‘अरुलाई दोष दिएर महत्त्वपूर्ण बनाउन चाहन्नँ । तर, बच्चा त राम्रो थियो ।’ उनको यो कटाक्ष शिव श्रेष्ठप्रति रहेको जस्तै अबुझले पनि बुझ्छ सक्छ । फिल्मिखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*