मकवानपुर गोल्डकपलाई हरेक बर्ष संचालन गरिने

हेटौंडा / मकवानपुर गोल्डकपलाई हरेक बर्ष संचालन गरिने गर्नका लागि मकवानपुरका स्थानिय तह सहमत भएका छन् । गोल्डकपका लागि चाहिने आर्थिक सहयोग रकम स्थानिय तहहरुले सहयोग गर्नका लागि तयार भएका छन् । दशवटै स्थानिय तहहरुले गोल्डकपलाई हरेक वर्ष ५० लाख रुपियाँ सहयोग गर्ने भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले स्थानीय तह समन्वय समिति मकवानपुरको बैठकले जिल्लास्थित सबै स्थानीय निकायले ५० लाख रुपियाँ मकवानपुर गोल्डकपलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । आज मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरमा भएको गोल्डकपको आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख महतले मकवानपुर गोल्डकपलाई निरन्तरता दिन स्थानीय तहले सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
‘मकवानपुर गोल्डकपको निरन्तरता जरुरी छ । यसको लागि जिल्लास्थित सबै स्थानीय तहले वार्षिकरुपमा ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ । यसरी स्थानीय तहले सहयोग गरे गोल्डकपले निरन्तरा पाउनेछ ।–’ महतले कार्यक्रममा भने । महतका अनुसार हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहानगरपालिकाले ५ लाख र ८ वटा गाउँपालिकाले २० लाख भन्दा बढी सहयोग गरेर कुल ५० लाख रुपियाँ मकवानपुर गोल्डकप आयोजनाको लागि सहयोग गर्ने निर्णय भएको हो । मकवानपुर फुटबल संघको आयोजना र जिल्लास्थित स्थानीय तहको सहयोगमा यही चैत ७ गतेदेखि हेटौंडामा सहिद स्मृति मकवानपुर गोल्डकप–२०७५ भएको थियो । उक्त गोल्डकप आयोजक मकवानपुरले नै जितेको थियो ।