माघ पहिलो सातादेखि राष्ट्रिय हेटौंडा भेट्रान्स कप
हेटौंडा । हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ देखि हुने भएको छ। हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हरेक वर्ष आयोजना हँदै आएको प्रतियोगिताबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक तथा हेटौंडा भेट्रान्स क्लबका सदस्य कविन सांगामीले जानकारी दिए। प्रतियोगितामा हेटौंडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौं, विराटनर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ। प्रतियोगितामा फुटबलमा राष्ट्रिय टिमबाट खेलिसकेकाहरु पनि सहभागी हुने सांगामीले बताए। प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा सञ्चालन हुनेछ।
प्रतियोगिताका प्रथम हुने समूहले एक लाख एक हजार १११ रुपैयाँ, दोस्रोले ५१ हजार १११ रुपैयाँ र उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए। यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ। पाँचौं संस्करणको उपाधि वगरभाई खेल भेट्रान पोखराले जितेको थियो। थाहाखवरबाट ।






