अहिलेसम्म गाउँ गएकी छैनः प्रमिला राई

जनपत्र
२५ चैत्र २०७५, सोमबार ०७:०२

नेपालमा निकै चर्चामा आएको अन्तर्राष्ट्रिय गायन रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा उत्कृष्ट सातसम्म आएर बाहिरिएकी प्रतियोगीत हुन् प्रमिला राई । काठमाडौंमै घर भएकी प्रमिला नेपाल आइडलमा आउनुपुर्व एक बैंकमा काम गर्छिन् । अलिअलि गीत गुनगुनाउने प्रमिलाले गायिका बन्ने लक्ष्य लिएकी थिइनन् । जब नेपाल आइडलले अवसर दियो र अडिसनबाट पास हुँदै गइन् उनले आफ्नो प्रतिभालाई बाहिर ल्याउँदै गायिका बन्ने सपना देखिन् र अन्ततः अहिले गायिका बनेर सांगितीक यात्राकै लागी देश बिदेश घुमेकी छिन् । प्रमिलाले अहिलेसम्म दुईवटा सोलो गीत गाएकी छिन् भने अन्य केहि संयुक्त गीत पनि गाएकी छिन् । पहिलो ‘कान्छा’ बोलको गीतले राम्रो सफलता पाएसँगै केहिदिन अघिमात्रै ‘जाउँ न’ बोलको दोस्रो गीतसार्वजनिक गरेकी छिन् । जसमा आफ्नो गाउँमा घुम्न जाने कुरा गरिएको छ । यसैबिच उनै प्रमिलासँग उनको सांगितीक यात्रा तथा भर्खर सार्वजनिक भएको गीतको बिषयमा गोपिकृष्ण चापागाईंले केहि प्रश्नोत्तर गरेका छन् ।

दोस्रो गीतबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? 

गीत सार्वजनिक भएको धेरै दिन त भएको छैन तर प्रतिक्रिया निकै राम्रो पाइरहेकी छु । पहिलो गीत र अहिलेको गीत केहि फरक छ त्यसैले पनि दर्शकले मन पराइदिनुभएको छ । गीत सार्वजनिक भएपछि जतिठाउँमा जान्छु गीतको राम्रो प्रतिक्रिया दिनुभएको छ, खुसी छु ।

अहिलेको गीतमा गाउँघर अथवा टिपिकल कुराहरुलाई जोडदिनुभएछ नि, कारण ? 

पहिलो गीत केहि रक स्टाइलको थियो । अब फेरी त्यहि जनराको गर्नुभन्दा केहि फरक गरौं भनेर मौलिकता झल्किने गीत गाएकी हुँ । गीतमा गाउँघरमा घुम्न जाने कुरा छ, मलाई यस्तो घुम्नेकुराहरुमा निकै मन पनि पर्छ ।

काठमाडौंमै हुर्केको मान्छे गाउँघरमा कत्तिको जानुहुन्छ ? 

म अहिलेसम्म गाउँ पुगेकै छैन भन्दा हुन्छ । सानोछँदा पढाई भयो, घुम्न जाने भन्ने हुन्थेन, आफ्ना आफन्त सबै यतैहुनुहुन्छ त्यसैले पनि माहोल मिलेन र अहिले ब्यस्त भएको कारण जान पाएकी छैन । तर डाँडाकाँडा, हरियाली घुम्न निकै मनपर्छ ।

नेपाल आइडल भन्दा अघि बैंकमा जागिर खानुहुन्थ्यो अब त पुर्णरुपमा जागिर छाड्नुभएको होला नि ? 

नेपाल आइडल सकिने समयसम्म बिदामै थिएँ र धेरै लामो समय बिदा लिनुपर्ने भएकाले मैले समय दिन नसक्ने भएँ । अहिलेपनि गीतसंगीतका लागी समयदिनुपर्ने त्यसैगरी सांगितीक यात्राका लागी देश बिदेश गरिरहँदा जागिरमा समयदिन सकेकी छैन । पुर्णरुपमा छाडेको होइन, पछि जुनसमयमा आएपनि हुन्छ भनेर बैंकले ब्यवस्था मिलाइदिएको छ ।

आफ्ना गीतहरुमा मोडलिङ आँफै गर्ने हो ? 

मेरो पहिलो गीतमा मोडलिङ गरेकी थिइन । धेरैले आँफै मोडलिङ गर भन्नुभयो र गरेपछि राम्रो प्रतिक्रिया आएको कारणले निरन्तरता दिन खोजेकी हुँ । दर्शकको चाहाना बमोजिम नै गरेकी हुँ र भोलीको दिनमा आफ्नो गीतमा आँफै अवस्य हुनेछु ।

चलचित्रमा अभिनय गर्ने सोंचमा हुनुहुन्छ कि ? 

चलचित्रमा अभिनय गर्नु साधारण कुरा होइन, धेरै कुरा सिक्नु आवश्यक छ । गीतमा मोडलिङ गर्नु र अभिनय गर्नु धेरै फरक कुरा हो, म्युजीक भिडियोमा हाउबाउले हुन्छ तर अभिनयका लागी धेरै कुरा सिक्नु जरुरी हुन्छ त्यसैले अहिलेनै चलचित्रमा अभिनय गर्दिन र भोलीको दिनमा अफर आउने र मेरो इच्छा अनि सिकाइ सबै मिल्यो भने गर्नेछु ।

नेपाल आइडलमा नआएको भए गायिका बन्नुहुन्थ्यो ? 

मलाई नेपाल आइडलले ठुलो अवसर दिएको हो । मैले गीत अलि अलि गाउँने गरेकी थिएँ, तर गायिका नै बन्छु भन्ने लक्ष्य बोकेकी थिइन् त्यसैले पनि यदि नेपाल आइडलमा नआएको भए म अहिले जागिर खाएर बसेकी हुन्थेँ । बैंकको जागिरमै हुन्थेँ ।

आर्टिस्ट खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*