एक स्थानीय तहमा एक खेल मैदान निर्माण हुन्छ : मुख्यमन्त्री पौडेल

जनपत्र
२८ मंसिर २०७७, आईतवार ०४:५९

मकवानपुर / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताए । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसार रङ्गशाला निर्माण गरिने उल्लेख गरे ।

प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा खेल मैदान तथा रङ्गशाला निर्माण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए । कयौँ वर्षदेखि अलपत्र अवस्थामा रहेको हेटौँडास्थित गौरीटारमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान तयार पारेको भन्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रियस्तरकै प्यारापिट निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको बताए ।

मुख्यमन्त्री पौडेलले खेलाडी राज्यको सम्पत्ति हुन् भन्ने कुरा प्रदेश सरकारले महसुश गरेको बताए । उनले खेल क्षेत्रको विकासले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन मद्दत पु¥याउने दाबी गरे । प्रथम चरणमा क्षेत्रीय रङ्गशालाको कम्पाउन्ड पर्खाल निर्माण गरिने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*