मौकामा चौका नहानोस् बलात्कारीले
मन बेचैन छ, अचेल । प्रदेश २ को बारा, पर्सालगायत क्षेत्रमा आइतबार राति आएको हावाहुरीपछि भएको धनजनको क्षतिले मेरो विगत स्मरण गराइदिएको छ ।
१२ वैशाख २०७२ को त्यो रात ! धेरैले धेरै रात खुला आकशामुनि बिताए । घर भत्किनेहरूको त बाध्यता नै बन्यो, खुला आकाशमुनिको बास । तर, घर नभत्किएकाहरू डरका कारण रात काट्न सडक ओर्लिए ।
घर भाँसिएर दुई चिरामा विभाजित भयो । छिमेकीसँग सडकमा रात काट्ने सल्लाह भयो । त्रिपाल राखेर ठूलो टनेल बनाए, छिमेकी दाजुभाइले । सबैले समूहमा खायौं । आधा रात ढल्कियो । ठूलै भूकम्प आए पनि मरिन्न त्यसैले खुला ठाउँमा सुत्ने सल्लाह भयो । दाजुभाइको एक लस्कर र दूधे बालबालिका तथा महिलाको अर्को लस्कर लागेर सुत्ने मेलोमेसो बन्यो ।
सडकमा दुई लस्कर ओछ्यान तयारी भयो । पूर्व सिरानी गरेर सुत्ने गरी पुरुषका लागि लस्करै ओछ्यान तय भयो, पश्चिम सिरानी गरेर सुत्ने गरी दूधे बालबालिका तथा महिलाहरूका लागि । दुई लस्करबीच सहजै हिँड्न मिल्ने गरी खाली ठाउँ राखियो, लगभग दुई फिट जतिको ।
रात छिप्पिँदै गयो, मेरो गोडामुनि को सुतेको थियो, मैले ख्याल गरेकी थिइनँ । भूकम्पले हल्लाएको झझल्को मनमा उसैगरी उर्लिरहेको थियो । निद्रा पटक्कै थिएन । चार वर्षको छोरी च्यापेर सुतेकी थिएँ । पिच नगरिएको उबडखाबड बाटोमा बनाइएको ओछ्यान अप्ठ्यारो भएर होला छोरी पनि राम्रोसँग निदाएकी थिइनन् ।
यति नै बेला मेरो गोडामा कसैले कोट्याएको जस्तो लाग्यो । आफ्नो गोडामाथि खुम्च्याए । केही मिनेटमा फेरि पनि मेरा खुम्चेकै गोडामा रगडिन एक जोर गोडा आए । मेरो मन एक्कासि आत्तियो । मोबाइल हातैमा थियो । टच बालेर हेरेँ । ऊ निदाएको जसरी लमतन्न बनिरह्यो । ऊ अर्थात् मेरो छिमेकी पाहुना ।
आफ्नै परिवार ठानेर बस्दै आएको समूहबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले सताइरहन्छ हरपल ।
झन्डै दुई फिटको बाटो राखेर वारिपारि गरेर लगाइएको ओछ्यान । त्यो सामूहिक बसाइ । भनिन्छ, समूहमा बल हुन्छ । जे जे परेपनि प्रतिकार गर्न सकिन्छ । तर, म त्यही समूहभित्र एक अत्यासपूर्ण परिस्थितिमा थिएँ । जुन ठाउँमा सुरक्षाको आशा गरेर बसियो, त्यही असुरक्षित महसुस भयो मलाई ।
वातावरण शान्त । बिजुली थिएन । अँध्यारो छाइरहेको थियो सर्वत्र । के गरौं, के गरौं भए ? एकदमै डर लाग्यो । यसैबीच ती जोडी गोडा फेरि नजिक नजिक आए । मैले मेरो नजिकै सुत्नुभएको भाउजूलाई बोलाएँ । उहाँ निदाउनुभएछ । म आफूलाई हिंसाको ठाडै प्रतिकार गर्ने हिम्मतवाली सम्झन्थेँ तर त्यतिबेला कहाँ हरायो मेरो आँट ?
म आफैं भित्रभित्रै रन्थनिएँ । छोरी फेरि जागिन् । मैले थोरै हिम्मत गरें, आफ्नै घर गएर सुत्ने । सोचें, बरु भूकम्प आए त्यही मरुँला, यहाँ एक पल बस्दिनँ । लामखुट्टेले छोरीलाई सुताउन समस्या भो भनेर घर आएँ, रातको २ बजेको थियो । तर आजका दिनसम्म पनि त्यो घटनाबारे कहीँ कसैलाई भनिन् । मनमै बसिरहेको छ ।
आइतबार बारालगायतका जिल्लामा आएको हावाहुरी पछि म त्यही २०७२ वैशाख १२ गते रातिको अवस्था सम्झिरहेको छु । बारम्बार बारा र पर्साका दिदीबहिनीलाई सम्झिरहेको छु । उनीहरूको सुरक्षाको अवस्था कस्तो छ ? समूहमै बस्नुपर्दा महिला, बालिका र किशोरीहरूको सुरक्षालाई अझै बढी गम्भीर रूपमा हेरिनुपर्छ । बालकेन्द्रित सुरक्षा नीति अवलम्बन गरिएकै छैन, बारा र पर्सामा ।
हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका छन् । ५ सय बढी घरहरू पूर्णतः भत्केका छन् भने हजारौंको परिवार घरवारविहीन भएका छन् । प्रभावित घरका महिला, बालिका र किशोरीको अवस्था कस्तो होला ? उनीहरूलाई आइपर्ने व्यक्तिगत समस्या कसरी समाधान गर्दै होलान् । महिलामाथि हरसमय धेरै चुनौती आइलाग्छन् ।
सामूहिक शौचालय प्रयोगमा हुने समस्या, समूहमा बस्दा, कपडा फेर्दा, नुहाइधुवाइ गर्दा, रजस्वला हुँदाको बखत प्याड लगाउने तथा व्यवस्थापन गर्ने समस्या भोगिरहेका होलान् ।
आफ्नै परिवार ठानेर बस्दै आएको समूहबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले सताइरहन्छ हरपल । जुन मैले आफ्नै उदाहरण दिइसकें ।
हावाहुरीका कारण बारा, पर्सा र रौतहटका जुन जुन परिवारको बास उठेको छ । त्यो बाससँगै उनीहरूको सुरक्षाको प्रबन्धको विषय उठेको छ ।
नेपालमा २०७२ को भूकम्पपछि बढेको मानव बेचबिखन र यौन दुव्र्यवहारको घटनाको तथ्यांकले पनि प्रस्ट्याएकै छ ।
हजारौं महिला, किशोरी र बालबालिका म जसरी प्रताडित भइरहेका छन्, सायद हर रात । मेरो हकमा म भोलिपल्टबाट त्रिपालमुनिको सामूहिक बसाइँमा सहभागी भइनँ । मेरो त विकल्प थियो । ती महिलासँग विकल्प नहुन सक्छ ।
उनीहरूको विशेष अवस्थाको अध्ययन गरेर विशेष प्रबन्ध मिलाउनतर्फ कतैबाट पहल भएको छैन आजसम्म । किनकि, पहिला ठूला कुरालाई ध्यान दिनुपर्छ भन्ने मानसिकता यत्रतत्र हावी छ । महिलाको सवाल अझैसम्म पनि विशेष सवालका रूपमा उठ्ने गरेको छैन । त्यही साना तथा झिनामसिना ठानिएका सवाललाई बेवास्ता गर्दा महिला हिंसाको सिकार हुन सक्छन् ।
नेपालीमा एउटा उखान छ, होचोको मुखमा घोचो अर्थात् जो कमजोर छ, जो पीडित छ, उसैलाई झन् कमजोर बनाइन्छ । समस्या परेको बेला मानवीय मन चाँडै पग्लिन्छ ।
भारतीय सीमा नजिक यतिबेला समस्यामा परेका चेलीबेटीहरू बेचबिखनमा पर्ने सम्भावना पनि ह्वात्तै बढेको छ । बस्ने घर छैन, लगाउने लुगा छैन, भरपेट खाना छैन, यो हविगतमा गुज्रिएको बेला कसैले कठै भनिदिँदा पनि प्रभावितको मन पग्लन सक्छ । जसको कारण बेचबिखनमा पर्ने, यौन शोषणको सिकार हुने, अंग बेचबिखन हुने सम्भावना रहन्छ ।
नेपालमा २०७२ को भूकम्पपछि बढेको मानव बेचबिखन र यौन दुव्र्यवहारको घटनाको तथ्यांकले पनि प्रस्ट्याएकै छ ।
सरसफाइको चुनौती पनि उत्तिकै छ । सामूहिक बसाइ, सबैजसो कुराको अभावमा फैलन सक्ने महामारीले पनि अर्को प्रकोप जन्माउन सक्छ । अभावको भुमरीमा हुन सक्ने आत्महत्या रोक्न होस् वा मानवीय अंग बेचबिखन वा यौन शोषण तथा चेलिबेटी बेचबिखनलगायतका घटना रोक्न उचित काम सुरु गर्न अझै ढिलाइ गरिनुहुन्न ।
महिला, बालबालिका र किशोरीको विशेष अवस्थाको अध्ययन गरेर समाधानका लागि काम गरिनुपर्छ । सरकार र गैरसरकारी निकायबाट गरिने सहयोग र विपद्बाट उठ्न साँच्चिकै बल साबित होस् ।
महिला र किशोरीले भोग्दै आएको एउटा विपद्को भुमरीबाट अर्को विपद्को भुमरीमा नपुगून् । ती वर्गका व्यक्तिका आन्तरिक समस्याको सम्बोधन होस् । सबैको राम्रो सुरक्षा प्रबन्ध चाँडै होस् ।