प्रधानमन्त्री ओली झापा र मोरङमा विभिन्न कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री आउने भएपछि रातरात बाटो पिच
जनपत्र
१७ चैत्र २०७५, आईतवार ०७:१२

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
काठमाण्डौबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आइतबार सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नुहुनेछ ।
यसैगरी अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नगरपालिका भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आइतबार नै मदन भण्डारी रंगशालासम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्नु हुने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकामा रहेको स्कुल चौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नुहुनेछ । त्यसपछि उहाँ सोमबार काठमाण्डौ फर्कनु हुनेछ ।

मोरङको उर्लाबारीस्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि रातारात बाटो कालोपत्रे गरिँदै छ।
केही समयअघि राष्ट्रपति आउँदा पनि कालोपत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै कालोपत्रे आफूखुसी गर्न थालेको हो। प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ।
त्यसबाहेक रहेको कच्ची सडकलाई वास्ता गरिएको छैन। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण शनिश्चरे बजारसम्मको सो सडकमा उर्लाबारी नगरपालिकाको ११ लाख, प्रतिष्ठानको १८ लाख ३८ हजार गरी कुल २९ लाख ३८ हजारमा उपभोक्ता समितिमार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनाका कार्यकारी निर्देशक विनोद आर्याल बताउँछन्।
चैत १२ गतेदेखि प्रतिष्ठानले बाटो पिच गर्न थालेको हो। अहिले बाटोभरि अलकत्रा छरिएको छ। तर, नगरपालिकासँग प्रतिष्ठानले बाटो निर्माणको कार्यादेश लिएको छैन। नगरपालिकाभित्र बाटो निर्माण गर्नुपरे उपभोक्ता समितिमार्फत सम्झौता आवश्यक पर्छ।
नगरपालिकाले भुक्तानी भने दिएको छैन। यसरी सडक निर्माण गर्दा प्राविधिक मूल्यांकन आवश्यक पर्ने इन्जिनियर बताउँछन्। प्राविधिक मूल्यांकनबेगर सडक निर्माण गैरकानुनी रहेको उर्लाबारी नगरपालिकाका एक इन्जिनियरले बताए।
प्रतिष्ठान स्व। नेता मदन भण्डारीको नाममा स्थापित संस्था हो। तत्कालीन एमाले नेताहरूको मात्रै पहुँच रहेको उक्त प्रतिष्ठानले सामाजिक कार्य गर्ने, सीपमूलक तालिम तथा शिक्षण गराउने गर्छ। गरिबका छोराछोरी पढाउने भन्दै स्थानीय निकायबाट चन्दा उठाउँछ। तर, कुनै पनि विद्यार्थीलाई निःशुल्क भने पढाउँदैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*